भदौ ३ , काठमाडौं । तेस्रो चरणको हज्किन लिम्फोमालाई पराजित गरेकी स्कटल्यान्डकी २३ वर्षीया एरिन लाभरी अहिले जीवनको अर्को चुनौतीसँग जुधिरहेकी छन्। क्यान्सरमुक्त भइसकेपछि पनि उनले आफ्नो प्रजनन क्षमता जोगाउन महँगो उपचारको बाटो रोज्नुपर्ने अवस्था आएको छ।
सन् २०२४ अगस्टमा एरिनलाई तेस्रो चरणको हज्किन लिम्फोमा भएको पत्ता लागेको थियो। तत्काल उपचार सुरु गर्नुपर्ने भएकाले उनले उपचारअघि अण्डाणु सुरक्षित राख्ने अवसर गुमाइन्। चिकित्सकहरूले क्यान्सर उपचारले उनको प्रजनन क्षमतामा गम्भीर असर पर्न सक्ने चेतावनी दिएका थिए।
छ महिनासम्म केमोथेरापी र एक महिनासम्म रेडियोथेरापी गराएकी एरिनले उपचारका क्रममा शारीरिक पीडासँगै भविष्यमा सन्तान जन्माउन नसक्ने चिन्तासमेत बोकेर हिँड्नुपरेको बताएकी छन्।
उपचार पूरा भएको एक वर्षपछि गरिएको परीक्षणले उनको प्रजनन क्षमतामा असर परेको पुष्टि गर्यो। त्यसपछि विशेषज्ञहरूले भविष्यमा सन्तान जन्माउने सम्भावना कायम राख्न सकेसम्म छिटो अण्डाणु सुरक्षित राख्न सुझाव दिएका थिए।
तर यसका लागि करिब आठ हजार पाउन्ड खर्च लाग्ने र उक्त रकम आफैँले जुटाउनुपर्ने अवस्था सिर्जना भएको छ। क्यान्सरको उपचारअघि अण्डाणु सुरक्षित राखेको भए बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा ९एनएचएस० ले खर्च व्यहोर्ने थियो। तर उपचारपछि गरिने प्रक्रियामा भने उनले सरकारी सहयोग नपाउने भएकी छन्।
एरिनका अनुसार रोग पहिचान हुन ढिलाइ भएकाले उनले अण्डाणु सुरक्षित राख्ने अवसर गुमाएकी हुन्। डेढ वर्षसम्म बिरामी हुँदा पनि रोगको सही पहिचान हुन नसक्दा उनको उपचार ढिलो भएको थियो।
क्यान्सरका कारण दुई वर्षसम्म कामबाट टाढा रहेकी एरिन अहिले आर्थिक समस्यासँग पनि जुधिरहेकी छन्। उनी नेल टेक्निसियनका रूपमा कार्यरत थिइन्।
उपचारका क्रममा अस्पतालमा बिताएका अनुभवहरू उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएकी थिइन्। त्यही अनुभव साझा गर्ने क्रममा उनले क्यान्सरबाट बचेका महिलाहरूको प्रजनन अधिकारका विषयमा अभियान सुरु गरेकी हुन्।
उनको अभियानले सामाजिक सञ्जालमा व्यापक समर्थन पाएको छ। धेरै मानिसले क्यान्सर उपचारपछि महिलाहरूले भोग्नुपर्ने यस्तो समस्याबारे आफूहरू अनभिज्ञ रहेको प्रतिक्रिया दिएका छन्।
स्कटल्यान्ड सरकारले एरिनको अभियानप्रति सकारात्मक प्रतिक्रिया दिएको छ। सरकारले प्रजननसम्बन्धी सेवाको समीक्षा गरी आवश्यक सुधारका विषयमा छिट्टै निर्णय गर्ने जनाएको छ।
व्यक्तिगत पीडालाई सामाजिक अभियानमा रूपान्तरण गरेकी एरिनले क्यान्सरबाट बचेका महिलाहरूका लागि प्रजननसम्बन्धी सेवामा सहज पहुँच सुनिश्चित गर्नुपर्ने बताएकी छन्। उनका अनुसार क्यान्सरमाथिको विजय अन्तिम उपलब्धि होइन, त्यसपछि पनि महिलाहरूले आफ्नो भविष्य र मातृत्वको अधिकारका लागि अर्को संघर्ष गर्नुपर्ने अवस्था आउन सक्छ।