असोज १९, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले तीन महिनाभित्र काठमाडौं महानगरपालिकाका मुख्य सडकमा सिसि टिभी र सडक बत्ती जडान गरिसक्ने जनाएकी छिन्।
शुक्रबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० समापन समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन्।
उनले धुलोरहित सडक बनाउनका लागि महानगरपालिकाले एक अर्बको टेण्डर अघि बढाइसकेको पनि बताइन्। उपप्रमुख डंगोलले सो टेण्डर योजनामा सडकका खाल्डाखुल्डी पुर्नेदेखि फुटपाथलाई व्यवस्थित बनाउनेसम्मको काम हुने जानकारी दिइन्।
उनले भनिन्, ‘महानगरपालिकाले सिसि टिभीका लागि नेपाल प्रहरीसँग एमओयु गरिसकेको छ। र एनइएसँग पनि रोड सेफ्टी सम्बन्धी जोडिने अर्को महत्वपूर्ण पाटो भनेको रोड लाइट्स हो। स्ट्रिक लाइटहरु हुन्। त्यसका लागि पनि हामीले एनइएसँग एमओयु गरिसकेका छौँ। ३ महिनाभित्र मुख्य सडकहरुमा सिसि टिभी कम्प्लिट रुपमा जडान भइसक्ने र सडक बत्ती पनि जडान भइसक्ने हामीले टार्गेट राखेका छौँ।