असार १२, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले पशुपतिनाथको गर्भगृहमा रहेको शिवलिंगमा राखिएको सुनको जलहरीमा नाम लेख्नु निन्दनीय रहेको बताएकी छन् । उनले पशुपतिनाथमा चढाइएको सबै सुन राज्यकोषमा दाखिला गर्न सरकारसँग माग पनि गरेकी छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद गौतमले धर्मको नाममा जलहरी चढाउने कार्य नाटकिय रहेको बताइन् ।'धर्मको नाममा चढाइएको सबै सुन राज्य कोषमा जम्मा हुने गरी पशुपतिनाथको मौलिक स्वरुप देखिने गरी पुरानै अवस्थामा राखियोस् भनी आग्रह गर्न चाहन्छु । पशुपतिमा अर्पित जलहरीमा ढिलै भए पनि अख्तियारले परीक्षण गर्नु राम्रो कुरा हो । तर उक्त जलहरीको परीक्षण गर्दा १३ जनाको नाम पार्वतीका अंगका रुपमा पूजिने जलहरीको सुवर्णपेटिकामा कुँदेर लेख्ने मोह अति निन्दनीय मात्रै होइन, भत्सर्नायोग्य पनि छ,' उनले भनिन्,'भगवान्को गर्भगृहमा आफ्नो नाम लेखाउने मोह जाग्नु, यस्तो बुद्धि कहाँबाट प्रकट हुन्छ ?हामीले भगवान्को अंगको रुपमा पुज्ने पेटिकामा दैनिक तन्त्र र वैदिक विधिपूर्वक अर्चना हुन्छ । पशुपतिनाथकै मन्दिरमा बरु दान पेटिका हराएको, घ्याम्पो हराएको जस्ता कुराहरूको सत्यतथ्य जानकारी पनि यस सदनलाई दिनुपर्छ भन्ने आग्रह गर्न चाहन्छु ।’
सांसद गौतमले पशुपतिनाथमा चढाइएको सुनको जलहरी राज्यकोषमा जम्मा गर्नुपर्ने र पुरानै शैलीमा फर्काउनुपर्ने माग गरेकी छन् । ‘न भाङ्ग्रा ओढी बाघको छालामा बस्ने भोले बाबाले मलाई सुनको जलहरी चढाऊ भनेका थिए कि न त भोलेनाथलाई सुनको जलहरी चढाउँदा शिवलिंगको मौलिक स्वरुप नै दर्शन गर्न पाइने हुन्छ' उनले भनिन्,'आराध्यदेव पशुपतिनाथलाई जथाभावी विवादमा ल्याएर सारा हिन्दुहरूको भावनामा चोट पुग्ने काम भएको छ ।'
पशुपतिनागथको गर्भगृहमा रहेको शिवलिंगलाई छुनसमेत नहुने मान्यता रहिआएकोमा सुन चढाउने र निकाल्नेजस्ता कार्य स्वीकार्य नरहेको सांसद गौतमको भनाइ थियो ।