साउन २९, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको करिब १ सय किलो सुनबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ले अनुसन्धान गरिरहेको छ । हङकङकबाट क्याथे प्यासिफिकको उडानमार्फत ‘रेडी ट्रेड प्रालि’ले काठमाडौँमा ल्याएको सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो ।
सुन तस्करीमा चिनियाँ नागरिक संलग्न रहेको ब्यूरोको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिकका सहयोगी ३ जना महिलालाई सीआईबीले पक्राउ गरेको छ । शुक्रबार पक्राउ गरिएका ३ महिलामध्ये दुई जना नेपाली र एक जना चिनियाँ छन् ।एसपी संजयसिंह थापा नेतृत्वको टोलीले उनीहरूसँग सोधपुछ गरिरहेको छ ।
अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार ती ३ जना महिला चिनियाँ तस्करसँग निकट सम्बन्धमा रहेको पाइएको छ । तस्करले उनीहरूलाई हङकङ र दुबईबाट सुन ल्याएपछि नेपालमा स्वरूप परिवर्तन गरेर भारत पठाउने काममा परिचालन गरेको अनुसन्धानबाट थाहा भएको छ ।