साउन २० , काठमाडौं । फिलिपिन्सकी युवा टेनिस खेलाडी एलेक्स इआलाको ऐतिहासिक सफलतापछि देशभर टेनिसप्रति अभूतपूर्व आकर्षण बढेको छ।
२१ वर्षीया इआलाले वासिङ्ट डीसीमा भएको प्रतियोगितामा शीर्ष खेलाडी जेसिका पेगुलालाई हराउँदै डब्ल्यूटीए टुर स्तरको एकल उपाधि जित्ने पहिलो फिलिपिनो महिला खेलाडी बनेकी हुन्।
उनको यो जितपछि फिलिपिन्समा टेनिस खेलप्रति चासो ह्वात्तै बढेको छ। पहिले बास्केटबल, बक्सिङ जस्ता खेलले प्रभुत्व जमाएको देशमा अहिले टेनिस क्लबहरूमा सहभागिता बढ्दै गएको र पूर्वाधार विकासतर्फ पनि ध्यान दिन थालिएको छ।
इआलाको सफलताले विशेषगरी महिलाहरू र युवा खेलाडीहरूलाई ठूलो प्रेरणा दिएको छ। उनले विगतमा विम्बल्डनमा उत्कृष्ट प्रदर्शन गर्दै विश्व चर्चामा आएकी थिइन्, जसले उनको आत्मविश्वास र लोकप्रियता अझ बढाएको थियो।
फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले समेत उनलाई राष्ट्रिय गर्वको प्रतीक भन्दै सम्मान गरेका छन्।
विशेषज्ञहरूका अनुसार, इआलाको सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई महिला खेलकुद र राष्ट्रिय खेल संस्कृतिमा परिवर्तन ल्याउने महत्वपूर्ण मोड बन्न सक्ने देखिएको छ।