web image
साउन २७ ,काठमाडौं । काठमाडौंमा डेरा खोज्दा जातीय विभेद भोग्नुपरेको भन्दै दीपा नेपालीले माइतीघर मण्डलामा सुरु गरेको धर्ना ११६ दिन पुगेको छ। ‘सरकार१ कोठा खाली छरु’ भन्ने नारासहित धर्नामा बसेकी नेपालीको मागप्रति सरकारले अझै ठोस पहल नगरेको भन्दै सांसदहरूले संसद्मा आवाज उठाएका छन्।
बुधबार राष्ट्रिय सभाको शून्य समयमा राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले दीपा नेपालीको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण गराए। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर बिस्टले पनि ११६ दिनसम्म सरकारको ध्यान नजानु दुःखद भएको बताए।
दीपा नेपालीका अनुसार काठमाडौंमा समेत घरभाडामा बस्न खोज्दा थर र जात सोधेर कोठा नदिने समस्या कायमै छ। यसका कारण धेरै दलित विद्यार्थी तथा रोजगारीका लागि काठमाडौं आएका व्यक्तिले आफ्नो थर परिवर्तन गरेर वा अरूको परिचय प्रयोग गरेर कोठा लिनुपर्ने बाध्यता रहेको उनको दाबी छ।
सांसद बिस्टले विगतमा दलित समुदायमाथि भएको विभेदका लागि माफी माग्नु मात्रै पर्याप्त नहुने भन्दै व्यवहारमै विभेद अन्त्य गर्न सरकारसँग माग गरे।
जातका आधारमा आवासबाट वञ्चित गर्ने प्रवृत्ति अन्त्य गर्न कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने मागसहित नेपालीले आफ्नो धर्ना जारी राखेकी छन्।
Share this with your friends: