असोज १४, काठमाडौं । विश्व स्वास्थ्य संगठनले यौन तथा प्रजनन स्वास्थ्यलाई व्यक्तिको स्वास्थ्य, मर्यादा र समग्र कल्याणको आधारका रूपमा प्रस्तुत गर्दै सेप्टेम्बर २०२६ लाई ‘‘World Sexual and Reproductive Health Month’’ का रूपमा केन्द्रित गरेको छ।
डब्लूएचओका अनुसार यौन तथा प्रजनन स्वास्थ्यले मानिसको जीवनभरका स्वास्थ्य, सम्बन्ध, शरीरसम्बन्धी निर्णय र भविष्यका योजनामा प्रत्यक्ष प्रभाव पार्छ। गर्भधारण गर्ने वा नगर्ने निर्णय, गर्भनिरोधक साधनको पहुँच, गर्भावस्था तथा प्रसूति सेवा, प्रजनन क्षमता उपचार, यौनरोगबाट सुरक्षा र हिंसाबाट संरक्षण यसअन्तर्गत पर्छन्।
डब्लूएचओले सही र वैज्ञानिक सूचनामा पहुँचले मानिसलाई आफ्नो स्वास्थ्य र भविष्यबारे सूचित निर्णय लिन सहयोग गर्ने जनाएको छ। संस्थाका अनुसार यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित धेरै गम्भीर स्वास्थ्य चुनौती रोकथाम गर्न सकिने भएकाले प्रमाणमा आधारित सेवा र जानकारीको पहुँच महत्वपूर्ण हुन्छ।
विशेषगरी महिला, किशोरी, प्रजननसम्बन्धी समस्या भोगिरहेका व्यक्ति, हिंसाबाट प्रभावित तथा सामाजिक–आर्थिक अवरोध सामना गरिरहेका समुदायका लागि सम्मानजनक र सेवाग्राहीमैत्री स्वास्थ्य सेवा आवश्यक रहेको डब्लूएचओले उल्लेख गरेको छ।
यौन तथा प्रजनन स्वास्थ्यमा लगानीले रोकथाम गर्न सकिने रोग तथा मृत्यु घटाउनुका साथै शिक्षा, रोजगारीमा सहभागिता र स्वास्थ्य प्रणालीको सुदृढीकरणमा समेत योगदान गर्ने डब्लूएचओको भनाइ छ।
यसै महिनाको सुरुवातमा डब्लूएचओले यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी अनुसन्धान र उपलब्ध प्रमाणलाई सेवामा प्रभावकारी रूपमा रूपान्तरण गर्ने विषयमा अन्तर्राष्ट्रिय छलफलसमेत आयोजना गरेको थियो।
Share this with your friends: