साउन ३१ ,काठमाडौं । भोजपुरको पौवादुङमा गाउँपालिकामा महिलाहरू व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले सञ्चालन गरेको ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’अन्तर्गत बङ्गुरका पाठापाठी र खोर निर्माणमा ५० प्रतिशत अनुदान उपलब्ध गराएपछि स्थानीय महिलाले पशुपालनलाई आयआर्जनको प्रमुख माध्यमका रूपमा अपनाउन थालेका हुन्।
पौवादुङमा गाउँपालिका–४ बास्तिमकी बर्तमाया राईले गाउँपालिकाको सहयोगमा खोर निर्माण गरी उन्नत जातका बङ्गुरका पाठापाठी पाएपछि व्यावसायिक रूपमा बङ्गुरपालन सुरु गरेको बताइन्। हाल उनले १० वटा उन्नत जातका पाठापाठीबाट व्यवसाय सञ्चालन गरिरहेकी छन्।
स्थानीय किसान जयमारानी राईका अनुसार अनुदान कार्यक्रमले पशुपालनतर्फको आकर्षण बढाएको छ। प्रारम्भिक लगानीको अभावका कारण व्यवसाय सुरु गर्न नसकेका किसानका लागि स्थानीय तहको सहयोग प्रभावकारी बनेको उनको भनाइ छ।
उनले अनुदानले किसानलाई आफ्नै लगानीमा मात्र निर्भर हुनुपर्ने अवस्थाबाट मुक्त गराउनुका साथै व्यावसायिक पशुपालनतर्फ अघि बढ्न थप प्रेरणा दिएको बताइन्।
गाउँपालिका अध्यक्ष किरण राईले महिलालाई आर्थिक गतिविधिसँग जोड्ने उद्देश्यले वडा नं। ४, ५ र ६ का किसानलाई बङ्गुरपालनका लागि अनुदान उपलब्ध गराइएको जानकारी दिए।
उनका अनुसार गत आर्थिक वर्षमा गाउँपालिकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरी किसानको ५० प्रतिशत लागत साझेदारीमा ६० लाख रुपैयाँ बराबरका कार्यक्रम सञ्चालन गरेको थियो। सो कार्यक्रमअन्तर्गत २० वटा बङ्गुर फर्म र एउटा बाख्रा फर्मलाई अनुदान प्रदान गरिएको थियो।
गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले आगामी दिनमा पनि स्थानीय आवश्यकता र किसानको मागका आधारमा कृषि तथा पशुपालनसँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिइने बताइन्।
उनले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ कृषि र पशुपालनमा आधारित विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै स्थानीय स्रोत र सीपको उपयोगमार्फत महिलाको आयआर्जन बढाउने योजना रहेको जानकारी दिइन्।
स्थानीय तहको पहलमा सञ्चालन गरिएको यस्तो कार्यक्रमले महिलालाई उद्यमशील बनाउनुका साथै ग्रामीण अर्थतन्त्रलाई समेत बलियो बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।
Share this with your friends: