जेठ १०, काठमाडौं । सांसद सुशीला थिङले सिन्धुली जिल्ला अस्पतालको लापरबाहीका कारण सुत्केरीको निधन भएकोबारे प्रतिनिधि सभामा जानकारी गराएकी छिन् । बुधवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद थिङले सिन्धुली जिल्ला अस्पतालमा २६ वर्षीय गंगाकुमारी श्रेष्ठ प्रसुति व्यथापछि पुगेको र अस्पतालका लापरबाहीका कारण ज्यान गुमाउनुपरेको बताइन् ।
सो अस्पतालले बिहान साढे २ बजे महोत्तरीको बर्दिबास ट्रमा सेन्टरका लागि रेफर गरेको र ट्रमा सेन्टर पुग्दा ढिला भएको कारण बिहान ५ बजे सुत्केरीको मृत्यु घोषणा गरिएको जानकारी गराइन् । उनले मृतकका आफन्तले अस्पताल तोडफोड गरेको र प्रहरीसँग झडप भएको जानकारी गराइन् । अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु हुनु राम्रो सन्देश नभएको उनले बताउँदै अस्पतालको लापरबाहीका कारण कुनै पनि सुत्केरीले ज्यान गुमाउनु नपरोस् भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।