असोज २, काठमाडौं । कानुनमन्त्री सोविता गौतमले पछिल्ला दुई दिनको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले प्रस्तुत गरेको संसदीय भूमिकाको प्रशंसा गरेकी छन्। शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री गौतमले प्रतिपक्षी सांसदहरूले प्रश्न गर्ने, विषयको गहिराइमा पुगेर तर्क गर्ने तथा फरक धारणा र सुझाव प्रस्तुत गर्ने क्रममा पक्ष र प्रतिपक्षको सीमाभन्दा माथि उठेर बहस गरेको बताएकी हुन्।
गौतमले पछिल्ला दुई दिनको प्रतिनिधिसभा बैठकले आफूलाई प्रभावित बनाएको उल्लेख गर्दै विषय उचित लाग्दा प्रतिपक्षी सांसदहरूले खुला मनले समर्थनसमेत गरेको बताएकी छन्। आफूले देख्न चाहेको संसद् पनि यस्तै रहेको भन्दै उनले पक्ष र प्रतिपक्षभन्दा माथि उठेर विषयकेन्द्रित बहस हुनुपर्ने धारणा राखेकी छन्।
यसैबीच, प्रतिनिधिसभाको बिहीबारको बैठकले संयुक्त राष्ट्रसंघीय समुद्री कानुन महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका समुद्री क्षेत्रको जैविक विविधता संरक्षण तथा दिगो उपयोगसम्बन्धी बीबीएनजे सम्झौतामाथि सामान्य छलफलको प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो। नेपालले उक्त सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिरहेको छ।
भूपरिवेष्ठित राष्ट्र भए पनि नेपालको जलवायु, हिमाल, नदी तथा अर्थतन्त्र समुद्रसँग जोडिएको उल्लेख गर्दै मन्त्री गौतमले समुद्री जैविक विविधता संरक्षणमा नेपालको पनि भूमिका रहेको बताएकी छन्। बीबीएनजे सम्झौताले सामुद्रिक आनुवंशिक स्रोतबाट प्राप्त लाभको न्यायोचित बाँडफाँट, सामुद्रिक संरक्षित क्षेत्र, वातावरणीय प्रभाव मूल्यांकन तथा विकासोन्मुख देशका लागि क्षमता विकास र सामुद्रिक प्रविधि हस्तान्तरणसम्बन्धी व्यवस्था गर्नेछ।
सम्झौता अनुमोदन भएपछि समुद्री जैविक विविधता संरक्षण, सामुद्रिक आनुवंशिक स्रोत, जैविक सुरक्षा, वैज्ञानिक सहयोग तथा प्रविधि हस्तान्तरणसम्बन्धी राष्ट्रिय कानुन आवश्यक पर्ने सरकारको भनाइ छ।