फागुन १३, काठमाडौं, (एजेन्सी) । साउदी अरेबियाकी राजकुमारी रिमा बिन्त बन्दर अल(साउद अमेरिकाका लागि साउदी राजदूत हुने भएकी छन्। उनी साउदी अरेबियाबाट राजदूतको जिम्मेवारी पाउने पहिलो महिला बन्नेछिन्।
शनिवार उनको नियुक्तिको खबर शाही आदेशमार्फत् सार्वजनिक गरिएको हो। राजकुमारी रिमाले आफ्नो बाल्यकालको केही समय वाशिङ्टन डिसीमै बिताएकी थिइन्।
साउदी राजकुमारी रिमाले आफ्ना भाइ युवराज खालिद बिन सलमानले निर्वाह गर्दै आएको राजदूतको भूमिका अब आफूले निभाउन लागेकी हुन्।
युवराज खालिद भने देशको उपरक्षामन्त्रीमा नियुक्त भएका छन्। राजकुमारी रिमाले अमेरिकाका लागि साउदी राजदूतको भूमिका निर्वाह गरेर आफ्ना बुवा बन्दर बिन सुल्तान अल साउदकै पदचाप पच्छाउन लागेकी छन्।
उनका बुवा सन् १९८३ देखि २००५ सम्म अमेरिकाका लागि राजदूत थिए। उनी राजदूत भएका कारण रिमाले आफ्नो हुर्किँदो उमेर अमेरिकामै बिताइन्।
उनले सङ्ग्रहालयसम्बन्धी विषयमा स्नातक पनि जर्ज वाशिङ्टन विश्वविद्यालयबाटै गरेकी हुन्। सन् २००५ मा रियाद फर्किएपछि राजकुमारी रिमाले सरकारी र निजी दुवै क्षेत्रमा काम गरिन्। - बीबीसी