भदौ ५ , काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा याङ्की उक्याबलाई नियुक्त गरेको १६ दिन बितिसक्दा पनि उनले पदभार सम्हाल्न सकेकी छैनन्।
मन्त्रिपरिषद्को गत असार २० गते बसेको बैठकले विकास अर्थशास्त्री उक्याबलाई आगामी चार वर्षका लागि लगानी बोर्डको सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो। तर नियुक्तिसम्बन्धी औपचारिक पत्र बोर्डमा नपुगेका कारण उनले कार्यभार सम्हाल्ने प्रक्रिया अघि बढ्न नसकेको हो।
लगानी बोर्डकी प्रवक्ता सुनिता नेपालका अनुसार सरकारले सीईओ नियुक्त गरेको आधिकारिक पत्र अहिलेसम्म बोर्डमा प्राप्त भएको छैन।
सरकारले नियुक्तिको निर्णय गरे पनि सम्बन्धित निकायमा औपचारिक पत्र नपठाउँदा नयाँ सीईओको पदभार ग्रहणमा ढिलाइ भएको प्रवक्ता नेपालले बताइन्।
यसैबीच, स्रोतका अनुसार उक्याबले आगामी सोमबार लगानी बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गर्ने तयारी गरेकी छन्।
चार वर्षका लागि सीईओ नियुक्त भएकी उक्याबले पदभार ग्रहण गरेपछि लगानी प्रवर्द्धन, ठूला पूर्वाधार आयोजना तथा विदेशी लगानीसँग सम्बन्धित कामलाई अघि बढाउने जिम्मेवारी सम्हाल्नेछिन्।
सरकारको नियुक्ति निर्णय भएको लामो समयसम्म पनि औपचारिक प्रक्रिया पूरा हुन नसक्दा सरकारी निर्णय कार्यान्वयनको गति र प्रशासनिक समन्वयमाथि समेत प्रश्न उठेको छ।