साउन १८ , काठमाडौं । भारतको बहुचर्चित महिला पहलवान यौन दुर्व्यवहार प्रकरणमा दिल्लीको एक अदालतले पूर्व कुश्ती संघ अध्यक्ष ब्रिजभूषण शरण सिंह र उनका सहयोगी विनोद तोमरलाई निर्दोष ठहर गरेको छ। अदालतको यस निर्णयसँगै लामो समयदेखि चर्चामा रहेको मुद्दाको टुंगो लागेको छ।
उक्त मुद्दा छ जना महिला पहलवानले दायर गरेका थिए, जसमा यौन दुर्व्यवहार, धम्की र दुर्व्यवहारसम्बन्धी गम्भीर आरोप लगाइएको थियो। घटनाले भारतभर व्यापक चर्चा पाएको थियो र त्यसविरुद्ध खेलाडीहरूले आन्दोलनसमेत गरेका थिए।
अदालतले प्रमाण र प्रस्तुत दाबीहरू पर्याप्त नठहरिएको निष्कर्ष निकाल्दै दुबै आरोपीलाई सफाइ दिएको हो। बचाउ पक्षले मुद्दामा “विरोधाभास, असंगतता र ढिलाइ” रहेको दाबी गर्दै आएको थियो, जसले अन्ततः फैसला प्रभावित गरेको बताइएको छ।
यस फैसलापछि ब्रिजभूषणले आफूविरुद्ध लगाइएका आरोपलाई षड्यन्त्रको संज्ञा दिएका छन् र न्यायपालिकाप्रति विश्वास व्यक्त गरेका छन्।
करिब तीन वर्षदेखि चलिरहेको यो मुद्दाले भारतको खेलकुद क्षेत्र र राजनीति दुवैमा ठूलो प्रभाव पारेको थियो। अदालतको पछिल्लो निर्णयले कानुनी रूपमा प्रकरण अन्त्य भए पनि यसले उठाएका प्रश्न र बहस भने अझै कायम रहने देखिएको छ।