असोज १४, काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत जुडोमा प्रतिस्पर्धा गरेका चार नेपाली खेलाडी पहिलो चरणमै पराजित भएका छन्। निशा श्रेष्ठ, देवकीमाया श्रेष्ठ, विशेष विक र विकास विकले आफ्नो पहिलो खेलमा हार बेहोरेका हुन्।
महिलातर्फ ४८ केजीमुनि प्रतिस्पर्धा गरेकी निशा श्रेष्ठ हङकङकी वोङ का लीसँग इप्पोनका आधारमा पराजित भइन्। ५२ केजीमुनि देवकीमाया श्रेष्ठ भने भियतनामकी लाम थि नगान हासँग युकोका आधारमा १–० ले पराजित भइन्।
पुरुषतर्फ ६६ केजीमुनि विशेष विक हङकङका वोङ का कीसँग ११–१ को स्कोरपछि वाजारीका आधारमा पराजित भए। ६० केजीमुनिका विकास विकलाई उज्वेकिस्तानका समारिदिन खुशकारोबले खेल सुरु भएको ४८ सेकेन्डमै इप्पोन प्रहार गर्दै पराजित गरे।
नेपालबाट जुडोमा कुल ६ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। अब पुनम श्रेष्ठ र सुजन गुरुङले बिहीबार प्रतिस्पर्धा गर्नेछन्।