असोज १४, काठमाडौं । जटिल प्रसूति समस्या देखिएपछि धादिङकी २४ वर्षीया ममता तामाङको हवाई उद्धार गरी काठमाडौं ल्याइएको छ।
धादिङको गंगाजमुना गाउँपालिका–५ की तामाङको प्रसूतिको क्रममा स्वास्थ्य अवस्था गम्भीर भएपछि महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनाको हवाई उद्धार कार्यक्रममार्फत उनलाई काठमाडौं ल्याइएको हो।
हवाई उद्धारपछि तामाङलाई थप उपचारका लागि काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा भर्ना गरिएको छ। अस्पतालमा उनको आवश्यक उपचार भइरहेको जनाइएको छ।
दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा जटिल प्रसूति अवस्थामा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उद्देश्यले सरकारले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।
कार्यक्रममार्फत जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई आपत्कालीन अवस्थामा हवाई माध्यमबाट सुविधासम्पन्न स्वास्थ्य संस्थासम्म पुर्याउने गरिएको छ। मन्त्रालयले सुरक्षित मातृत्व, समयमै उद्धार र महिलाको जीवनरक्षालाई कार्यक्रमको प्राथमिकतामा राखेको जनाएको छ।