असोज १४, काठमाडौं । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले महिलामाथि भइरहेको हिंसा देशकै लागि गम्भीर समस्या र ‘राष्ट्रिय लज्जा’ भएको बताएका छन्। जोहानेसबर्गनजिकैको एक नगरपालिकामा पछिल्लो समय महिलाका शव भेटिएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
पूर्वी जोहानेसबर्गमा पर्ने एकुरहुलेनी नगरपालिकामा जुलाईयता ११ जना महिलाका शव फेला परेको र यसले देशभर महिला सुरक्षाबारे चिन्ता तथा आक्रोश बढाएको रोयटर्सले जनाएको छ। मृतकमध्ये अधिकांश २० देखि ३० वर्ष उमेर समूहका रहेको र केही शवमा यौन हिंसाका संकेत देखिएको बताइएको छ।
राष्ट्रपति रामाफोसाले टेलिभिजनमार्फत सम्बोधन गर्दै अझै केही महिलाका शव सरकारी शवगृहमा पहिचानको प्रतीक्षामा रहेको उल्लेख गरे। उनले घटनाप्रति राष्ट्रिय शोक र आक्रोश व्यक्त गर्दै महिलामाथि हुने हिंसा रोक्न सरकारको प्रयास आवश्यक रहेको बताए।
हालसम्म यी सबै हत्याको पछाडि एउटै व्यक्तिको हात रहेको प्रमाण फेला नपरेको प्रहरीले जनाएको छ। यद्यपि अनुसन्धानका सबै सम्भावनालाई खुला राखिएको छ। तीनवटा घटनासँग सम्बन्धित व्यक्तिहरू पक्राउ परिसकेको र सबै घटनाको अनुसन्धानलाई निरन्तरता दिइने राष्ट्रपतिले बताएका छन्।
दक्षिण अफ्रिकामा हत्या दर उच्च रहेको र प्रहरी अनुसन्धानमा स्रोतसाधनको कमी तथा भ्रष्टाचारजस्ता समस्याले चुनौती थपिएको रोयटर्सले जनाएको छ। रिपोर्टअनुसार करिब १० प्रतिशत हत्याका घटना मात्र समाधान हुने गरेका छन्।
महिलामाथि हुने हिंसाको विषयमा सरकारले यसअघि पनि विभिन्न प्रतिबद्धता जनाउँदै आएको भए पनि पछिल्ला घटनाले महिला सुरक्षा, प्रहरी अनुसन्धान र न्याय प्रणालीको प्रभावकारिताबारे पुनः प्रश्न उठाएको छ।