भदौ ३ , काठमाडौं । दक्षिण अफ्रिकाको इस्टर्न केप सरकारले महिला तथा युवा उद्यमीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने अभियान तीव्र बनाएको छ। साना तथा मझौला व्यवसायलाई निर्यातका अवसर उपलब्ध गराउँदै आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले विभिन्न कार्यक्रम अघि बढाइएको हो।
सरकारले महिला तथा युवाले सञ्चालन गरेका व्यवसायलाई उत्पादन विकास, वित्तीय पहुँच, बजार विस्तार र व्यावसायिक सञ्जाल निर्माणमा सहयोग गर्ने रणनीति अघि सारेको छ। यसबाट स्थानीय उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
इस्टर्न केप सरकारले सन् २०२६ लाई महिला तथा युवा उद्यमशीलतालाई प्राथमिकता दिने वर्षका रूपमा अघि बढाएको छ। उद्यमीलाई सीप विकास, डिजिटल प्रविधि, हरित अर्थतन्त्र तथा नवप्रवर्तनसँग जोड्ने कार्यक्रमसमेत सञ्चालन भइरहेका छन्।
यसैबीच, इस्टर्न केप एक्सपोर्ट सिम्पोजियम तथा प्रदर्शनीमार्फत स्थानीय व्यवसायलाई अन्तर्राष्ट्रिय खरिदकर्ता र लगानीकर्तासँग जोड्ने प्रयास भइरहेको छ। कार्यक्रममा महिला उद्यमीले आफ्ना उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्ने अवसर पाएका छन्।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९यूएनडीपी० ले पनि अफ्रिकी महादेशीय स्वतन्त्र व्यापार सम्झौता ९एएफसीएफटीए० अन्तर्गत महिला तथा युवा उद्यमीलाई क्षेत्रीय व्यापारसँग जोड्ने कार्यक्रम सञ्चालन गरिरहेको छ। यसले महिलालाई नयाँ बजार, लगानी, परामर्श तथा व्यापारिक साझेदारीमा पहुँच विस्तार गर्न सहयोग पुर्याइरहेको छ।
विशेषज्ञहरूका अनुसार वित्तीय स्रोत, प्रविधि र बजार पहुँचको अभाव महिला उद्यमीका प्रमुख चुनौती हुन्। यस्तो अवस्थामा सरकार, निजी क्षेत्र र विकास साझेदारबीचको सहकार्यले महिला उद्यमशीलता विस्तार गर्दै उनीहरूलाई विश्व बजारमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने देखिएको छ।