भदौ १५ , काठमाडौं । नयाँ अध्ययनले टाइप–२ मधुमेहले महिला र पुरुषमा फरक किसिमका स्वास्थ्य जटिलता निम्त्याउने देखाएको छ। करिब २९ हजार बिरामीमा गरिएको अध्ययनअनुसार मधुमेह भएका महिलामा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिने सम्भावना बढी छ भने पुरुषमा मुटु तथा मिर्गौलासम्बन्धी रोगको जोखिम बढी देखिएको हो।
अध्ययनमा सन् २०१० देखि २०२० सम्म टाइप–२ मधुमेह पहिचान भएका २८ हजार ७२० जनालाई औसत ६.८ वर्षसम्म पछ्याइएको थियो। महिलामध्ये ८.१ प्रतिशतमा चिन्ता, डिप्रेसन वा अन्य मानसिक स्वास्थ्य समस्या देखिएको थियो भने पुरुषमा यस्तो दर ५.३ प्रतिशत थियो।
त्यस्तै, पुरुषमध्ये ८.४ प्रतिशतमा मुटुसम्बन्धी रोग वा अन्तिम चरणको मिर्गौला रोग देखिएको थियो। महिलामा भने यस्तो दर ५.३ प्रतिशत थियो।
अध्ययनले मधुमेह उपचारमा महिला र पुरुषका लागि समान उपचारभन्दा लैंगिक जोखिमअनुसार फरक स्वास्थ्य निगरानी आवश्यक रहेको देखाएको छ। विशेषगरी मधुमेह भएका महिलामा मानसिक स्वास्थ्यको नियमित परीक्षण तथा पुरुषमा मुटु र मिर्गौलासम्बन्धी परीक्षणमा ध्यान दिनुपर्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।