माघ ९, काठमाडौं । महिलाहरूलाई जान प्रतिबन्ध रहेको दक्षिण भारतको केरलास्थित एउटा मन्दिरमा प्रवेश गर्ने एउटी महिलालाई उनको परिवारले घरमा छिर्न नदिएको अधिकारीहरूले बताएका छन्।
सबरीमाला मन्दिर गएको निहुँमा सासूले आफूलाई कुटपिट गरेको भन्दै ३९ वर्षीया कनकदुर्गा गत हप्ता मङ्गलवार अस्पताल भर्ना भएकी थिइन्। उनको टाउकोमा चोट लागेको थियो।
केरलास्थित सबरीमाला मन्दिरमा रजस्वला हुने उमेरका महिलाहरू प्रवेश गर्न नहुने परम्परा छ।तर गत सेप्टेम्बर महिनामा भारतको सर्वोच्च अदालतले त्यो परम्परा हटाउन र सबै महिलालाई प्रवेश दिन आदेश दियो। त्यसको विरोधमा प्रदर्शनहरू भए।
अदालतको आदेशपछि धेरै महिलाहरूले मन्दिरमा जाने प्रयास गरे। तर प्रदर्शनकारीहरूले उनीहरूलाई छेके।तर कनकदुर्गा र अर्की महिला जेनुअरी २ मा मन्दिरमा प्रवेश गर्न सफल भएका थिए।
ढोका बन्द
सोमवार साँझ कनकदुर्गा अस्पतालबाट घर फर्किन्। तर घरको ढोका बन्द थियो।सामाजिक कार्यकर्ता तङ्काचन विठयाटिलले बीबीसी हिन्दीका इमरान कुरैशीलाई बताएअनुसार उनी घर पुग्दा त्यहाँ कोही पनि थिएनन्। उनका पति र दुई छोराहरूले पनि घर छोडेका थिए।
विठयाटिलका अनुसार उनी प्रहरीसँग आएकी थिइन् र उनीहरूले कनकदुर्गालाई महिला सहायता केन्द्र लगे।एक रात त्यहाँ बसेपछि कनकदुर्गा प्रहरी कार्यालय पुगिन्। त्यहाँ उनका पति कृष्णन् उन्नीलाई सोधपुछ गर्न झिकाइएको थियो।
वरिष्ठ प्रहरी अधिकारी प्रतीश कुमार भन्छन्, उनी कनकदुर्गालाई घर लैजान चाहँदैन थिए तर कनकदुर्गा भने पति जहाँ गएको हो त्यहीँ जान चाहन्थिन्।
अन्ततस् उन्नी एक्लै गए भने कनक दुर्गाले महिला सहायता केन्द्रमै फर्किनुपर्यो।स्रोत : बीबीसी