साउन १८, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नर्स ज्योति रानाभाटको सत्याग्रहप्रति सरकार गम्भीर रहेको जनाएकी छन्। सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफू स्वास्थ्यकर्मीसमेत भएकाले रानाभाटका माग र स्वास्थ्य अवस्थाप्रति संवेदनशील रहेको बताएकी हुन्।
मन्त्री मेहताले समस्याको समाधान संवादमार्फत सम्भव हुने विश्वास व्यक्त गर्दै मन्त्रालयले सुरुदेखि नै वार्ता र समन्वयका लागि निरन्तर प्रयास गर्दै आएको उल्लेख गरेकी छन्। उनका अनुसार वार्ता समिति, अतिरिक्त सचिव, सचिव तथा सम्बन्धित निकायमार्फत पटकपटक संवादको प्रयास गरिएको छ। साथै, स्वास्थ्य तथा शिक्षासम्बन्धी संसदीय समितिका सभापतिले पनि वार्तालाई निरन्तरता दिन पहल गरिरहेको उनले जानकारी दिइन्।
उनले आज पनि सम्बन्धित पक्षसँग पुनः वार्ता गर्ने तयारी भइरहेको जनाउँदै सबै पक्षको सहयोगमा सकारात्मक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेकी छन्।
यसबीच, मन्त्री मेहताले सुनसरीमा भएको हिंसात्मक घटनाको व्यवस्थापन तथा पीडित परिवारसँग समन्वयका कारण आफू त्यहाँ व्यस्त रहे पनि उक्त विषयलाई उच्च प्राथमिकतामा राखिएको स्पष्ट पारेकी छन्। उनले हालसम्म अवस्था पूर्ण रूपमा सामान्य नभएको र आफ्नो उपस्थिति आवश्यक रहेको पनि बताइन्।
नर्सिङ क्षेत्र सुधारका लागि १५ बुँदे माग राख्दै साउन १४ गतेदेखि अनशनमा बसेकी नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको छ। रक्तचाप र सुगरको स्तर घटेपछि उनलाई क्याबिनबाट आईसीयूमा सारिएको अस्पताल स्रोतले जनाएको छ।
नर्सिङ क्षेत्र सुधारको मागसँगै सुरु भएको यो आन्दोलनले स्वास्थ्य क्षेत्रमा सुधारको आवश्यकता पुनः उजागर गरेको छ।