भदौ ३ , काठमाडौं । दिल्ली सरकारको दिल्ली लक्ष्मी योजना अन्तर्गत छनोट भएका योग्य महिलाले अगस्ट २६ देखि लाभपत्र पाउने भएका छन्। मुख्यमन्त्री रेखा गुप्ताका अनुसार लाभग्राहीको खातामा मासिक आर्थिक सहायता भने सेप्टेम्बर १ देखि जम्मा हुनेछ।
योजनाअन्तर्गत प्रत्येक लाभग्राही महिलालाई मासिक २ हजार ५०० भारतीय रुपैयाँ उपलब्ध गराइनेछ। सरकारले रकम वितरणको विकल्पसमेत तय गरेको छ। जसअनुसार १ हजार रुपैयाँ सेन्ट्रल बैंक डिजिटल करेन्सी ९सीबीडीसी० र १ हजार ५०० रुपैयाँ फिक्स्ड वा रिकरिङ डिपोजिटमा राख्न सकिनेछ। लाभग्राहीको इच्छाअनुसार सम्पूर्ण २ हजार ५०० रुपैयाँ निक्षेपमा राख्ने विकल्प पनि उपलब्ध हुनेछ।
लाभपत्र वितरणको सुरुवात गर्न अगस्ट २६ मा टालकटोरा रंगशालामा विशेष कार्यक्रम आयोजना गरिने दिल्ली मुख्यमन्त्री कार्यालयले जनाएको छ।
मुख्यमन्त्री गुप्ताले योजनाको प्रभावकारी कार्यान्वयनका लागि जिल्ला तहका स्वीकृति, अनुगमन तथा गुनासो समाधान समितिको भूमिका महत्वपूर्ण रहेको बताइन्। उनले आवेदनमा कुनै विवरण शंकास्पद देखिएमा स्थानीय जनप्रतिनिधिसहित समितिका सदस्यले त्यसको विस्तृत जाँच गर्न निर्देशन दिएकी छन्।
सरकारले आवेदनमा छुटेका वा गलत विवरण सच्याउन पनि अवसर दिने भएको छ। त्यसका लागि दिल्ली लक्ष्मी योजना पोर्टलमा छिट्टै सुधार सुविधा उपलब्ध गराइनेछ।
सरकारी तथ्यांकअनुसार योजना सुरु भएको पहिलो १८ दिनमै ८ लाख महिलाले पोर्टलमा दर्ता गरेका छन्। तीमध्ये करिब ५ लाखले पूर्ण आवेदन बुझाइसकेका छन्।
मुख्यमन्त्री गुप्ताले सम्बन्धित विभागबीच समन्वय कायम गर्दै आवेदनको प्रमाणीकरण र स्वीकृति प्रक्रियाको निरन्तर अनुगमन गर्न अधिकारीहरूलाई निर्देशन दिएकी छन्।