साउन १३ , काठमाडौं । दिल्ली सरकारले महिलाको आर्थिक सशक्तीकरणलाई लक्षित गर्दै मासिक ₹२,५०० भत्ता प्रदान गर्ने नयाँ योजना स्वीकृत गरेको छ। ‘दिल्ली लक्ष्मी योजना’ नाम दिइएको उक्त कार्यक्रममार्फत करिब १७ लाख महिलालाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
सरकारले आर्थिक वर्ष २०२६\२७ का लागि करिब ₹५,११० करोड बजेट विनियोजन गरेको छ। योजना विशेषगरी आर्थिक रूपमा कमजोर वर्गका महिलालाई लक्षित गरिएको छ, जसले उनीहरूको जीवनस्तर सुधार गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।
सरकारका अनुसार योजना अन्तर्गत योग्य महिलाले प्रतिमहिना बैंक खातामार्फत सिधै रकम प्राप्त गर्नेछन्। आवेदन प्रक्रिया अगस्ट १ देखि सुरु गरिने बताइएको छ भने औपचारिक कार्यान्वयन चाँडै सुरु हुने तयारी गरिएको छ।
यस योजनाले महिलाको आर्थिक स्वतन्त्रता बढाउने, पारिवारिक निर्णयमा उनीहरूको सहभागिता मजबुत बनाउने तथा सामाजिक सुरक्षा सुदृढ गर्ने अपेक्षा गरिएको छ। साथै, यो योजना सरकारले निर्वाचनताका गरेको प्रमुख प्रतिबद्धतामध्ये एक भएको जनाइएको छ।