भदौ ५ , काठमाडौं । अमेरिकाको केन्टकी राज्यमा तातो कारभित्र करिब आठ घण्टा छोडिएकी १० महिनाकी बालिकाको मृत्यु भएको छ। घटना अगस्ट १३ मा म्याडिसनभिलमा भएको हो।
प्रहरीका अनुसार बालिकालाई उनकी ६१ वर्षीया हजुरआमा डा. स्टेसी फाजेनबेकरले डे–केयरमा पुर्याउनुपर्ने थियो। तर उनी बालिकालाई कारमै छोडेर आफू काम गर्ने मेडिकल क्लिनिकमा पुगेकी थिइन्।
बालिकाका बुबा उनलाई अपराह्न करिब ४ बजे लिन डे–केयर पुगेपछि कर्मचारीले बालिका त्यस दिन डे–केयरमा आएकै नभएको जानकारी दिएका थिए। त्यसपछि परिवारले बालिका हजुरआमाको कारमै रहेको थाहा पाएको थियो।
प्रहरीका अनुसार बालिका कारको पछाडिको सिटमा सिटबेल्टमा बाँधिएको अवस्थामा अचेत भेटिएकी थिइन्। घटनाका दिन बाहिरको तापक्रम करिब ३५ डिग्री सेल्सियस पुगेको थियो भने कारभित्रको तापक्रम करिब ४६ डिग्री सेल्सियस पुगेको बताइएको छ।
हजुरआमाले घटनाबारे थाहा पाएपछि सहकर्मीहरूसँगै कारतर्फ दौडिएर बालिकालाई बाहिर निकालेकी थिइन्। प्रहरीले तत्काल जीवन बचाउने प्रयास गरे पनि बालिकालाई बचाउन सकेन।
बालिकाको पहिचान स्कटी ग्विन क्रोवेलका रूपमा गरिएको छ। घटनामा तत्काल कुनै आरोप लगाइएको छैन। प्रहरीले अनुसन्धान जारी राखेको छ भने बालिकाको मृत्युको आधिकारिक कारण पत्ता लगाउन पोस्टमार्टम गरिने जनाएको छ।
प्रहरीका अनुसार घटनाको अनुसन्धानपछि थप कानुनी कारबाही अघि बढ्न सक्ने सम्भावना छ।