साउन १४ , काठमाडौ । टिकटकर तुलसा अधिकारीका रूपमा चिनिने तुलसी अधिकारीविरुद्ध दायर मुद्दामा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ। ललितपुर जिल्ला अदालतले बिहीबारका लागि पेसी तोकेको उक्त मुद्दा न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासमा सुनुवाइ हुनेछ।
हाल अधिकारी पुर्पक्षका लागि थुनामा रहेकी छन्। यसअघि न्यायाधीश टेकनाथ गौतमको इजलासले उपलब्ध प्रमाणका आधारमा उनलाई थुनामा पठाउने आदेश दिएको थियो।
अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ तथा ठगीसम्बन्धी मुद्दा दायर गरिएको छ। सरकारी वकिल कार्यालयले २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दर्ता गरेको हो।
प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा उनलाई नियन्त्रणमा लिएको जनाएको छ। यस मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी रहेका छन्।
ललितपुरका एक व्यवसायीले दिएको जाहेरीअनुसार अधिकारीले बलात्कार मुद्दामा फसाउने धम्की दिँदै ब्ल्याकमेलिङ गरेर ४ करोड ५० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी असुल गरेको आरोप छ।
अदालतले आजको सुनुवाइपछि मुद्दाको आगामी प्रक्रिया तय गर्नेछ।