Web Image
साउन १८ , काठमाडौं । अष्ट्रेलियाभरका महिलाहरू आगामी महिना भिक्टोरियाको बेन्डिगोमा आयोजना हुने ‘थ्राइभिङ वुमेन सम्मेलन २०२६’ मा सहभागी हुने भएका छन्। कृषि क्षेत्रसँग सम्बन्धित ग्रामीण तथा क्षेत्रीय महिलालाई सशक्त बनाउने उद्देश्यले आयोजना गरिने यो सम्मेलन यस वर्ष नवौं संस्करणमा प्रवेश गरेको हो।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलन गैर–नाफामूलक संस्थाले आयोजना गर्दैछ। सम्मेलनमा नेतृत्व प्रशिक्षक, लेखक तथा अन्तर्राष्ट्रिय वक्ता केमी नेकभापिल, उद्यमी तथा कृषि प्रविधि (एग्रिटेक)क्षेत्रकी अभियन्ता ओलम्पिया यार्गर र पूर्व स्वतन्त्र संघीय सांसद तथा सामुदायिक नेतृ क्याथी म्याकगोवान प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्।
सम्मेलनकी संयोजक तथा नेतृत्व प्रशिक्षक पेट्रिस डग्लसले वक्ताहरूको सूची निकै प्रभावशाली रहेको बताउँदै सहभागिता उच्च हुने अपेक्षा व्यक्त गरिन्। “यो कार्यक्रम व्यवसाय, प्रेरणा र समान अनुभव भएका महिलाबीचको सशक्त संवादको उत्कृष्ट अवसर हो,” उनले भनिन्।
सम्मेलनमा मुख्य भाषणसँगै कृषि, व्यवसाय, नेतृत्व विकास, सामुदायिक उन्नयन र व्यक्तिगत स्वास्थ्यसम्बन्धी विभिन्न ‘टुलबक्स’ कार्यशालाहरू पनि सञ्चालन गरिनेछन्।
कार्यक्रम आयोजक समितिकी सदस्य तथा किसान रोबिन विलियम्सका अनुसार ‘थ्राइभिङ वुमेन’ केवल सम्मेलन मात्र नभई महिलाहरूबीच सिक्ने, जोडिने र आफूलाई समय दिने महत्वपूर्ण प्लेटफर्म हो। उनले यसपटक पहिलोपटक भिक्टोरियामा आयोजना हुनुले अझ बढी क्षेत्रीय महिलासँग जोडिने अवसर मिल्ने बताइन्।
‘थ्राइभिङ वुमेन सम्मेलन २०२६’ अगस्ट १० र ११ मा बेन्डिगोस्थित ‘अल सिजन्स रिसोर्ट होटल’ मा आयोजना हुने तय गरिएको छ।
Share this with your friends: