साउन १३ , काठमाडौ । नाबालिकाहरूबाट डिम्ब संकलन सम्बन्धी स्पष्ट कानुनी व्यवस्था नहुँदा अनुसन्धान र कारबाही प्रक्रियामा गम्भीर चुनौती उत्पन्न भएको देखिन्छ । डिम्ब संकलन, सहमति, उमेरको प्रमाणीकरण र स्वास्थ्य सुरक्षा जस्ता विषयमा स्पष्ट कानुन नहुँदा अनुसन्धान निकायलाई प्रमाण संकलन र मुद्दा दर्ता गर्न कठिन भइरहेको छ ।
ग्रामीण तथा कमजोर आर्थिक अवस्था भएका परिवारका छोरीहरू बढी जोखिममा पर्ने देखिएको छ। किशोरीहरूलाई लक्षित गर्ने गिरोहहरूले प्रायः आर्थिक प्रलोभन, रोजगारीको झूटा आश्वासन वा विदेश पठाइदिने बहानामा फसाउने गरेका पाईन्छ । सामाजिक सञ्जालमार्फत सम्पर्क, ‘मोडलिङ’ वा ‘हेल्थ चेकअप’ जस्ता बहानामा उनीहरूलाई जालमा पार्ने गर्छन्।
धेरैजसो अवस्थामा किशोरीहरूलाई डिम्ब संकलनको दीर्घकालीन स्वास्थ्य असरबारे जानकारी दिइँदैन। स्वास्थ्य जोखिम अत्यधिक हार्मोन प्रयोगले शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पार्छ ।
नेपालमा यस किसिमका घटनाहरूको औपचारिक तथ्यांक सीमित भए पनि केही अनुसन्धान र उजुरीहरूले यस्तो गतिविधि भइरहेको संकेत दिएका छन्। विशेषगरी शहरी क्षेत्रमा बिचौलियामार्फत किशोरीहरूलाई प्रलोभनमा पार्ने प्रयास भएको उल्लेख पाइन्छ। यद्यपि स्पष्ट कानुनी प्रावधानको अभावले यस्ता घटनामा ठोस कारबाही अघि बढाउन कठिनाइ भइरहेको छ।
विज्ञहरूले नाबालिगबाट डिम्ब संकलनलाई स्पष्ट रूपमा नियमन गर्ने कानुन, कडा अनुगमन, जनचेतना अभिवृद्धि र अन्तरनिकाय समन्वय आवश्यक रहेको बताएका छन्। साथै, किशोरीहरूलाई लक्षित गर्ने प्रलोभन र जालसाजीविरुद्ध समुदायस्तरमै सचेतना बढाउनुपर्नेमा जोड दिइएको छ।
यस विषयमा समयमै कडा नीति र कार्यान्वयन नभए, किशोरीहरू थप जोखिममा पर्ने र संगठित अपराधले जरो गाड्ने खतरा बढ्ने चेतावनी सरोकारवालाहरूले दिएका छन्।