भदौ १५ , काठमाडौं । अमेरिकी गायिका ओभिया रोड्रिगोले आयोजना गरेको ‘डेजी चेन फिल्ड्स’ संगीत महोत्सवबाट महिला स्वास्थ्य, कार्यस्थल सुरक्षा र कानुनी अधिकारका क्षेत्रमा काम गर्ने संस्थाका लागि २ करोड अमेरिकी डलर संकलन भएको छ।
क्यालिफोर्नियाको इर्वाइनमा आयोजित महोत्सवमा च्यापल रोअन, डोची र बिकिनी किललगायत महिला कलाकारहरूले प्रस्तुति दिएका थिए। रोड्रिगोले महोत्सव सुरु हुनुअघि नै ‘प्लान्ड प्यारेन्टहुड’, ‘नेसनल वुमन्स ल सेन्टर’ र ‘ब्ल्याक मामाज म्याटर अलाइन्स’ लगायत १० साझेदार संस्थाका लागि १ करोड डलर सहयोग गर्ने घोषणा गरेकी थिइन्।
त्यसपछि परोपकारी व्यक्तित्व मेलिन्डा फ्रेन्च गेट्सले थप १ करोड डलर सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन्। उनले रोड्रिगोले नयाँ पुस्तालाई सामाजिक अभियानमा जोड्न महत्वपूर्ण भूमिका खेलेको बताइन्।
रोड्रिगोले महिला अधिकारमा चुनौती बढिरहेका बेला कलाकार तथा अभियानकर्मीहरूको एकताले आफूलाई आशावादी बनाएको बताएकी छन्। उनले युवा पुस्तालाई गैरनाफामूलक संस्थासँग जोड्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताइन्।
महोत्सव यस्तो समयमा आयोजना भएको हो, जब अमेरिकामा परिवार नियोजन तथा प्रजनन स्वास्थ्यका लागि दिइने सरकारी अनुदान कटौती र गर्भपतन अधिकारसम्बन्धी विषयमा विवाद बढिरहेको छ।
रोड्रिगोले यस महोत्सवका लागि सन् १९९० को दशकमा आयोजना हुने गरेको महिलाको संगीत महोत्सव ‘लिलिथ फेयर’बाट प्रेरणा लिएको बताइएको छ।