भदौ २२, काठमाडौं । अस्ट्रियामा नयाँ शैक्षिक सत्र सुरु भएसँगै १४ वर्षमुनिका छात्राले विद्यालयमा हेडस्कार्फ अर्थात् टाउको छोप्ने कपडा लगाउन नपाउने नयाँ कानून लागू भएको छ।
कानूनअनुसार देशभरका सार्वजनिक तथा निजी विद्यालयमा हिजाब वा बुर्काजस्ता ‘परम्परागत मुस्लिम’ टाउको छोप्ने कपडामाथि प्रतिबन्ध लगाइएको छ।
अस्ट्रियाकी एकीकरणमन्त्री तथा रूढिवादी पिपुल्स पार्टी ९ओभीपी०की नेतृ क्लाउडिया बाउरले हेडस्कार्फलाई दमनको प्रतीक भन्दै सानै उमेरदेखि किशोरीमाथि नियन्त्रण गर्ने माध्यमका रूपमा व्याख्या गरेकी छन्। सरकारमा रहेका ओभीपी, सोसल डेमोक्र्याट्स ९एसपीओ० र उदारवादी एनईओएसले प्रतिबन्धलाई लैङ्गिक समानता तथा किशोरीहरूको अधिकार संरक्षणसँग जोडेर बचाउ गरेका छन्।
तर कानूनको चौतर्फी आलोचना पनि भइरहेको छ। आलोचकहरूले यसले अस्ट्रियामा मुस्लिमविरोधी भावना बढाउन सक्ने र धार्मिक स्वतन्त्रतासम्बन्धी संवैधानिक अधिकारसँग बाझिन सक्ने बताएका छन्।
अस्ट्रियाको आधिकारिक इस्लामिक समुदाय (आईजीजीओ)ले प्रतिबन्धको कडा विरोध गरेको छ। संस्थाकी कार्ला अमिना बाघाजातीले कानूनले धार्मिक स्वतन्त्रताको मौलिक अधिकारलाई अनुचित रूपमा सीमित गर्ने र मुस्लिम छात्रामाथि असमान प्रभाव पार्ने बताएकी छन्।
आईजीजीओले प्रतिबन्धविरुद्ध संवैधानिक अदालतमा जाने किशोरी तथा उनीहरूका परिवारको कानूनी पहललाई समर्थन गर्ने जनाएको छ।
यसअघि अस्ट्रियाको संवैधानिक अदालतले सन् २०२० मा प्राथमिक विद्यालयमा हेडस्कार्फमाथि लगाइएको पूर्वप्रतिबन्ध धार्मिक तटस्थताको सिद्धान्तविपरीत भएको भन्दै खारेज गरेको थियो।
नयाँ कानून उल्लङ्घन दोहोरिएमा बाल कल्याण सेवालाई जानकारी गराउनुपर्ने व्यवस्था छ। अन्तिम उपायका रूपमा अभिभावकलाई ८०० युरोसम्म जरिवाना गर्न सकिने प्रावधानसमेत कानूनमा राखिएको छ।