भदौ २२, काठमाडौं । नेपाल र चीनको तिब्बतमा गएको विनाशकारी बाढीपहिरोप्रति अस्ट्रेलियाले गहिरो दुःख व्यक्त गरेको छ। अस्ट्रेलियाली विदेशमन्त्री पेनी वोङले संसद्मा सम्बोधन गर्दै विपद्बाट भएको क्षति ‘अकल्पनीय’ रहेको बताएकी छन्।
विदेशमन्त्री वोङले बाढीपहिरोबाट सहर, गाउँ, घर, सडक तथा पुलहरूमा ठूलो क्षति पुगेको उल्लेख गर्दै प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यका लागि करिब ५० जना अस्ट्रेलियाली अधिकारी परिचालन गरिएको जानकारी दिइन्।
उनका अनुसार सम्पर्कविहीन भएका अस्ट्रेलियाली नागरिकको अवस्था पत्ता लगाउन काठमाडौँ, बेइजिङ, नयाँदिल्ली र क्यानबेरास्थित अधिकारीहरूलाई चौबीसै घण्टा परिचालन गरिएको छ। बेपत्ता नागरिकका परिवारसँग निरन्तर सम्पर्कमा रहन अस्ट्रेलियाको परराष्ट्र तथा व्यापार मन्त्रालय र संघीय प्रहरीले विशेष केस अफिसरसमेत खटाएको उनले बताइन्।
बाढीपहिरोबाट प्रभावित अस्ट्रेलियाली नागरिकका परिवारलाई सहयोग गर्न सर्भिसेस अस्ट्रेलियाका दुई जना सामाजिक कार्यकर्ता काठमाडौँ आइपुगेका छन्। अस्ट्रेलियाली दूतावासले बेपत्ता तथा प्रभावित नागरिकका परिवारलाई आवश्यक सहयोग र सूचना उपलब्ध गराउन काठमाडौँमा विशेष परिवार सहायता केन्द्र स्थापना गरिरहेको विदेशमन्त्री वोङले जानकारी दिइन्।
विपद्ले अस्ट्रेलियामा रहेका नेपाली, तिब्बती र हिन्दु समुदायलाई समेत गहिरो असर पारेको उनले बताइन्। उनले प्रभावित क्षेत्रमा रहेका परिवार, साथीभाइ र समुदाय गुमाउनेहरूको पीडाप्रति संसद्का तर्फबाट ऐक्यबद्धता व्यक्त गरिन्।
‘यस क्षेत्रका तीर्थयात्रा मार्ग र पवित्र स्थलसँग जोडिएका अस्ट्रेलियाली हिन्दु समुदायमा पनि यस विपद्ले गहिरो दुःख ल्याएको छ,’ उनले भनिन्।
अस्ट्रेलियाली सिनेटले बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति शोक व्यक्त गर्दै बेपत्ता आफन्तको खबरको प्रतीक्षामा रहेका परिवारप्रति समवेदना प्रकट गरेको छ।
विदेशमन्त्री वोङले नेपाल, तिब्बत र अस्ट्रेलियाबाट उद्धार तथा खोजी कार्यमा खटिएका सम्पूर्ण उद्धारकर्मीलाई कठिन परिस्थितिमा गरेको प्रयासका लागि अस्ट्रेलिया सरकारका तर्फबाट धन्यवाद दिइन्।
यसअघि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले पनि संसद्मा सम्बोधन गर्दै नेपाल र चीनको तिब्बत सीमा क्षेत्रमा गएको विनाशकारी बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका थिए। उनले विपद्को यस कठिन घडीमा नेपाल एक्लै नरहेको बताएका थिए।