भदौ २२, काठमाडौं । भारतको कोच्ची प्रहरीले महिलाको सार्वजनिक उपस्थितिबारे इस्लामिक विद्वान कान्तापुरम एपी अबुबकर मुसलियारको टिप्पणीमाथि भएको टेलिभिजन बहसपछि समाचार एंकरलाई शारीरिक आक्रमण गर्ने धम्की दिएको आरोपमा दुई जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।
मलयालम समाचार च्यानल बिग टीभीकी वरिष्ठ समन्वय सम्पादक अपर्णा कुरुपले दिएको उजुरीका आधारमा कोच्ची सिटी साइबर प्रहरी थानाले शनिबार कोझिकोडका अब्दुल बासिल र एक जना पहिचान नखुलेका व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको हो।
प्रहरीका अनुसार आरोपितहरूले सामाजिक सञ्जालमार्फत टेलिभिजनमा प्रसारित छलफलसम्बन्धी गलत सूचना, भिडियो र तस्बिरहरू प्रसार गरी कुरुपको प्रतिष्ठा तथा मर्यादामा आँच पुर्याउने प्रयास गरेका थिए। उनीहरूले कुरुपमाथि शारीरिक आक्रमण गर्ने धम्कीसमेत दिएको र त्यसबाट उनको सुरक्षाप्रति डर तथा असुरक्षा उत्पन्न भएको प्रहरीको भनाइ छ।
कुरुपले कान्तापुरमको महिलालाई सार्वजनिक मञ्चमा ल्याउँदा ‘ठूलो विनाश’ निम्तिने भन्ने अभिव्यक्तिको आलोचना गर्दै टेलिभिजन बहस सुरु गरेकी थिइन्। उक्त कार्यक्रम प्रसारण भएपछि उनीमाथि सामाजिक सञ्जालमा आक्रमण र धम्की आउन थालेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा भारतीय न्याय संहिता ९बीएनएस० का विभिन्न धारासहित सूचना प्रविधि ऐन, २००० को धारा ६७ अन्तर्गत मुद्दा अघि बढाएको छ। मुद्दामा सार्वजनिक अव्यवस्था निम्त्याउन सक्ने गतिविधि, आपराधिक धम्की, सार्वजनिक अशान्ति निम्त्याउने अभिव्यक्ति तथा विद्युतीय माध्यमबाट अश्लील सामग्री प्रसारणसम्बन्धी प्रावधान समेटिएका छन्।
प्रहरीले कुरुपलाई सामाजिक सञ्जालमार्फत धम्की दिने अन्य व्यक्तिहरूको समेत पहिचान गरिरहेको जनाएको छ। अनुसन्धान अघि बढ्दै जाँदा उनीहरूलाई पनि अभियुक्तका रूपमा मुद्दामा समावेश गरिने प्रहरी अधिकारीहरूले बताएका छन्।
इस्लामिक संगठनसँग आबद्ध रहेको बताइएका अब्दुल बासिललाई सोधपुछका लागि बोलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले सामाजिक सञ्जालमा फैलाइएका कथित गलत सामग्री तथा धम्कीको स्रोत पहिचान गर्न अनुसन्धान विस्तार गरेको छ। घटनाले महिलासम्बन्धी सार्वजनिक बहसमा सहभागी महिला पत्रकार तथा सञ्चारकर्मीमाथि हुने अनलाइन दुर्व्यवहार र धम्कीको विषयलाई समेत पुनः चर्चामा ल्याएको छ।