भदौ १९ , काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मौलिक संस्कृति र परम्परासँग जोडिएको गौरा पर्वको रौनक छाएको छ। भदौ शुक्ल पञ्चमीदेखि सुरु भएको गौरा पर्वको मुख्य दिन अठवाली अर्थात् अष्टमी आज सुदूरपश्चिमका विभिन्न जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ।
दार्चुला, बैतडी, डडेल्धुरालगायत पहाडी जिल्लामा गौरा पर्वको अवसरमा गौरा देवीको पूजा–आराधना गरी स्थानीय मन्दिर तथा पूजा स्थलमा जात्रा आयोजना गरिँदैछ। कैलाली र कञ्चनपुरमा बसोबास गर्ने पहाडी समुदायले पनि गौरा देवीको मन्दिर स्थापना गरिएका स्थानमा भेला भएर पर्व मनाइरहेका छन्।
सुदूरपश्चिमको मौलिक संस्कृति र पहिचानसँग जोडिएको गौरा पर्व भारतको उत्तराखण्डका कुमाउ र गढवाल क्षेत्रमा पनि स्थानीय धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार मनाउने गरिन्छ।
गौरा पर्व मनाउन रोजगारी तथा अन्य कामका सिलसिलामा भारतलगायत विभिन्न देश पुगेका मानिसहरू घर फर्किएपछि गाउँघरमा थप चहलपहल बढेको छ।
गौरा पर्वको पहिलो दिन भदौ शुक्ल पञ्चमीमा महिलाहरूले व्रत बसेर तामाको भाँडामा बिरुडा भिजाउने चलन छ। केराउ, गहत, गहुँ, मास र गुरौस गरी पाँच प्रकारका अन्न मिसाएर बिरुडा तयार गरिन्छ। यही कारण भदौ शुक्ल पञ्चमीलाई बिरुडा पञ्चमीका रूपमा समेत चिनिन्छ।
पञ्चमीमा भिजाइएको बिरुडा षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने परम्परा छ। सप्तमीका दिन गौरा देवीलाई मठमन्दिरमा भित्र्याएर पूजा–आराधना गरिन्छ। विवाहित महिलाले यस अवसरमा मन्त्रिएको दुवधागो चढाउने परम्परासमेत रहेको छ।
गौरा पर्वको मुख्य दिन अठवाली अर्थात् अष्टमीमा व्रत बसेर गौरा खलामा पार्वती र शिवको पूजा गर्ने चलन छ। यस दिनलाई दुर्वाष्टमी पनि भनिन्छ।
गौरा पर्वको प्रमुख आकर्षण भने देउडा हो। देउडामा पौराणिक कथा, देवी–देवताका गाथा तथा सामाजिक विषयवस्तु प्रस्तुत गरिन्छ। चैतली, धुमरी, ढुस्कोलगायत विभिन्न भाकामा देउडा खेल खेल्ने परम्परा छ।
देउडामार्फत समाजमा रहेका विकृति, विसङ्गति र समसामयिक राजनीतिक अवस्थामाथि व्यङ्ग्य गर्ने गरिन्छ। साथै देउडा गीतमार्फत सुख–दुःख साटासाट गर्दै सामाजिक सद्भाव र आपसी एकता कायम गर्ने परम्परा पनि रहेको छ।