भदौ १८ , काठमाडौं । नेकपा ९एमाले० की सांसद एशोदा बरालले विपद्का बेला सरकारले देखाएको सुस्तता र ‘एकद्वार प्रणाली’का नाममा भइरहेको ढिलासुस्तीप्रति कडा आपत्ति जनाएकी छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताइन्। उनले जलविद्युत् आयोजनाका सुरुङभित्र अझै मानिस जीवितै हुन सक्ने भन्दै तत्काल खोजी तथा उद्धार कार्य अघि बढाउन सरकारसँग माग गरिन्
बरालका अनुसार कर्णालीबाट आएका केही व्यक्तिले सुरुङभित्र दुई तले भवनजस्तो संरचना रहेको र त्यहाँ मानिस बस्ने व्यवस्था रहेको जानकारी दिएका छन्। त्यसकारण सुरुङभित्र फसेका मानिस जीवितै रहेको हुन सक्ने आशा अझै रहेको उनले बताइन्।
‘सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन,’ उनले भनिन्, ‘नागरिकको जीवन रक्षा गर्न उपलब्ध सबै उपाय प्रयोग गरेर तत्काल उद्धारमा जुट्नुपर्छ।’
सरकारले लागू गरेको एकद्वार प्रणालीका कारण विपद् प्रभावितले समयमै राहत पाउन नसकेको दाबी गर्दै बरालले पीडितहरू भोकभोकै बस्नुपर्ने अवस्था आएको बताइन्
‘सरकारले आफ्नो दम्भ त्यागेर नागरिकको ज्यान बचाउन लाग्नुपर्छ। न सास भेटिएको छ, न लास, न बस्ने बास छ,’ उनले भावुक हुँदै भनिन्।
बेपत्ता नागरिकका परिवार विचलित अवस्थामा रहेको भन्दै उनले सरकारको ध्यान तत्काल उद्धार र राहतमा केन्द्रित हुनुपर्नेमा जोड दिइन्।
Share this with your friends: