भदौ १२ , काठमाडौं । काठमाडौं महानगरपालिकाले रसुवा–भोटेकोशी क्षेत्रमा बाढीबाट भएको क्षति व्यवस्थापन तथा प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि ४ करोड ५४ लाख १४ हजार ७ सय ८७ रुपैयाँ सहयोग गर्ने भएको छ।
महानगरपालिकाको ५७औँ कार्यपालिका बैठकले बाढी प्रभावित क्षेत्रमा खाद्यान्न, लत्ताकपडा, इन्डक्सन तथा भाँडाकुँडा, पिउने पानी, त्रिपाल, कम्बल, सिलिन्डरलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउने निर्णय गरेको हो। त्यस्तै, एम्बुलेन्स, यातायातका साधन, शववाहन, एक्साभेटर तथा जेट मेसिनसहित आवश्यक जनशक्ति परिचालन गर्ने जिम्मेवारी विपद् व्यवस्थापन समितिलाई दिइएको छ।
सहयोग रकममध्ये ३ करोड रुपैयाँ महानगरको विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराइनेछ। बाँकी रकम जनप्रतिनिधि तथा महानगरका कर्मचारीको पारिश्रमिक र सुविधाबाट संकलन गरिनेछ।
कार्यवाहक प्रमुख एवं बैठककी अध्यक्ष सुनिता डंगोलले उद्धार भनेको जोखिम क्षेत्रबाट नागरिकलाई सुरक्षित स्थानमा ल्याउनु मात्र नभई उनीहरूको दैनिक जीवन सहज बनाउँदै पुनःस्थापनासम्म पुर्याउनु रहेको बताइन्।
उनले बाढी प्रभावित क्षेत्रमा जनधनको क्षतिसँगै काठमाडौंमा अध्ययन गरिरहेका विद्यार्थी तथा अस्पतालमा कुरुवा वा सहयोगीविहीन बिरामीको हेरचाहमा समेत सहयोग आवश्यक रहेको बताइन्।
बैठकले महानगरवासी, व्यापारी, व्यवसायी, उद्योगी तथा पेशाकर्मीलाई आफ्नो क्षमताअनुसार विपद् व्यवस्थापनमा सहयोग गर्न आह्वान गर्ने निर्णयसमेत गरेको छ। सहयोग व्यवस्थापन तथा समन्वयका लागि राष्ट्रिय सभागृहमा तत्काल सहायता कक्ष सञ्चालनमा ल्याइने भएको छ।
त्यस्तै, बाढी प्रभावित महानगरवासीको लगत संकलन, तत्काल उद्धार तथा राहत उपलब्ध गराउन राष्ट्रिय सभागृहमा सूचना केन्द्र सञ्चालन गर्ने र सबै वडा कार्यालयबाट आवश्यक विवरण संकलन गर्ने जिम्मेवारी सूचना तथा प्रविधि विभागलाई दिइएको छ।
महानगरपालिकाका अनुसार बाढी आएको दिनदेखि नै खोज तथा उद्धार तथा मानवीय सहायता कार्यमा विभिन्न संयन्त्र परिचालन हुँदै आएका छन्।
मुख्य कुरास् काठमाडौं महानगरले रसुवा–भोटेकोशी बाढी प्रभावितका लागि ४ करोड ५४ लाख रुपैयाँभन्दा बढी सहयोगसहित उद्धार, राहत, स्वास्थ्य, यातायात र पुनःस्थापनामा सहयोग गर्ने भएको छ।