मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयले गठन गरेको प्राविधिक समितिले आफ्नो अध्ययन प्रतिवेदन मन्त्री गीता चौधरीलाई बुझाएको छ।
प्रतिवेदन ग्रहण गर्दै मन्त्री चौधरीले मुलुकको वर्तमान विषम परिस्थिति सामान्य भएपछि प्रतिवेदनको विस्तृत अध्ययन गरी आवश्यक निर्णय तथा कार्यान्वयन प्रक्रिया अघि बढाइने बताएकी छन्।
उनले हाल मुलुक विषम परिस्थितिमा रहेकाले अवस्था सामान्य भएपछि प्रतिवेदन कार्यान्वयनका विषयमा थप छलफल गरिने जानकारी दिइन्।
मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तु व्यवस्थापनका लागि प्राविधिक समितिले दिएका सुझावलाई गम्भीरतापूर्वक लिँदै आवश्यक कदम चालिने प्रतिबद्धता व्यक्त गरेकी छन्।
उनका अनुसार मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व न्यूनीकरणका लागि वैज्ञानिक अध्ययन तथा व्यावहारिक उपायको आधारमा आगामी नीति तथा कार्यक्रम अघि बढाउन आवश्यक छ।