भदौ ११ , काठमाडौं । अष्ट्रेलियाको नेसनल काउन्सिल अफ ज्विस वुमनले सिड्नीमा दुईदिने राष्ट्रिय सम्मेलन आयोजना गरेको छ। ‘अटुट’ विषयमा आयोजित सम्मेलनमा अष्ट्रेलिया तथा अन्य देशबाट आएका महिलाहरूले नेतृत्व, सुरक्षा, भेदभाव र महिला अधिकारका विषयमा छलफल गरेका छन्।
सम्मेलनमा अष्ट्रेलियाका मानवअधिकार आयोग, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायत विभिन्न निकायका प्रतिनिधिको सहभागिता थियो। महिला तथा स्वतन्त्रतासम्बन्धी सत्रमा इरानी–अष्ट्रेलियाली महिलाले आफूले भोगेको उत्पीडन र त्यसबाट बाहिरिने संघर्षबारे अनुभव सुनाएका थिए।
सम्मेलनमा अनलाइन महिला–द्वेष र यहुदीविरोधी घृणाबीचको सम्बन्ध, कला, सञ्चार तथा परोपकारी क्षेत्रमा यहुदी महिलाले भोग्ने चुनौती र महिला नेतृत्वका विषयमा समेत छलफल भएको थियो।
अष्ट्रेलियाली संघीय प्रहरी आयुक्त क्रिसी बारेटले महिलासहित सबै समुदायले आफ्नो पहिचान लुकाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताइन्। सम्मेलनमा साहस, दृढता र नेतृत्व प्रदर्शन गर्ने महिलालाई सम्मान गर्न पहिलोपटक ‘एस्थर अवार्ड’ समेत घोषणा गरिएको थियो।