भदौ ९ , काठमाडौं । संयुक्त राष्ट्रसंघको तथ्यांकलाई उद्धृत गर्दै गरिएको विश्लेषणअनुसार महिलामाथिको प्रतिबन्धका कारण अफगानिस्तानले वार्षिक करिब ८ करोड ४० लाख अमेरिकी डलर बराबरको आर्थिक क्षति व्यहोर्दै आएको छ। करिब ३८ लाख अफगान किशोरी माध्यमिक शिक्षाबाट वञ्चित छन्।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनका अनुसार माध्यमिक तथा उच्च शिक्षामाथिका प्रतिबन्ध सन् २०६६ सम्म कायम रहेमा करिब ६ लाख महिला रोजगारीमा प्रवेश गर्नबाट वञ्चित हुनेछन्। यसबाट आगामी दशकहरूमा करिब ९ अर्ब ६० करोड अमेरिकी डलर बराबरको आर्थिक उत्पादन गुम्न सक्ने अनुमान गरिएको छ।
पूर्वअफगान राष्ट्रपति हमिद कारजाईसहित अन्तर्राष्ट्रिय समुदायले महिलालाई शिक्षा र रोजगारीबाट वञ्चित गर्ने तालिबानको नीतिले अफगानिस्तानलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न थप कठिन बनाउने चेतावनी दिँदै आएका छन्।
महिलालाई शिक्षा र रोजगारीबाट बाहिर राख्दा परिवारको आम्दानी, स्वास्थ्य सेवा, शिक्षा तथा समग्र अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने विश्लेषण गरिएको छ। साथै, विद्यालय बन्द हुँदा किशोरीहरू धार्मिक शिक्षामा सीमित हुने र दीर्घकालीन रूपमा सामाजिक अस्थिरता तथा कट्टरपन्थको जोखिम बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
अफगानिस्तानको आर्थिक तथा सामाजिक भविष्य सुरक्षित गर्न बालिकाका लागि माध्यमिक विद्यालय तथा विश्वविद्यालय पुनःखोल्न र महिलालाई रोजगारीमा फर्काउनुपर्ने आवश्यकता औँल्याइएको छ।