भदौ ९ , काठमाडौं । भारततर्फ अवैध रूपमा लागूऔषध लैजाँदै गरेको आरोपमा कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले पाँच महिलालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट चरेस र अफिमजस्तो देखिने लागूऔषधसहित १५ किलोभन्दा बढी पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहका अनुसार कृष्णनगर नगरपालिका–२ स्थित पुरानो बसपार्कबाट आइतबार साँझ भारततर्फ जाँदै गरेका पाँच जनालाई रोकेर जाँच गर्ने क्रममा तीन जनाको साथबाट लागूऔषध बरामद भएको हो।
प्रहरीका अनुसार दाङको राप्ती गाउँपालिका–३ मसुरिया बस्ने ३४ वर्षीया एक महिलाको कम्मरमा कपडाले बेरेर लुकाइएको अवस्थामा चरेसजस्तो देखिने कालो गिलो पदार्थ पाँच किलो २२५ ग्राम बरामद भएको छ।
त्यस्तै, कपिलवस्तुको विजयनगर गाउँपालिका–४ ज्योतिनगर बस्ने ४५ वर्षीया अर्की महिलाको साथबाट अफिमजस्तो देखिने पाँच किलो गिलो पदार्थ तथा सोही स्थानकी ५६ वर्षीया महिलाको साथबाट पनि पाँच किलो अफिमजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
उनीहरूसँगै दाङको राप्ती गाउँपालिका–३ मसुरियाकी ४३ वर्षीया महिला र पर्साको ठोरी गाउँपालिका–२ घर भई हाल विजयनगर गाउँपालिका–४ ज्योतिनगर बस्दै आएकी ४८ वर्षीया महिलालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका पाँचै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। बरामद पदार्थ परीक्षणका लागि पठाउनुका साथै लागूऔषध कहाँबाट ल्याइएको, कसरी ओसारपसार भइरहेको थियो र घटनामा अन्य व्यक्ति वा सम्भावित सञ्जालको संलग्नता छ कि छैन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।