भदौ ७ , काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कुष्ठरोग प्रभावित व्यक्तिमाथि हुने भेदभाव र अधिकारबाट वञ्चित गर्ने कार्यलाई सामाजिक अन्यायको संज्ञा दिएकी छन्।
आइतबार काठमाडौंमा नेपाल कानून समाज, एशोसिएशन फर आइडिया नेपाल, कुष्ठरोग निवारण संघ, राष्ट्रिय कुष्ठ प्रभावित कल्याण संघ तथा पुनःस्थापना, सशक्तिकरण तथा विकास नेपालले आयोजना गरेको कुष्ठ प्रभावित व्यक्तिहरूको कानूनी साक्षरता तथा क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै डंगोलले कुष्ठरोग व्यक्तिको पहिचान नभई स्वास्थ्यसम्बन्धी अवस्था मात्र भएको बताइन्।
उनले कुष्ठरोग प्रभावित व्यक्तिमाथि कुनै पनि प्रकारको विभेद गर्न नहुनेमा जोड दिँदै रोगभन्दा पनि रोगप्रति समाजले गर्ने व्यवहार ठूलो समस्या बनेको बताइन्।
डंगोलले कुष्ठरोगबारे सामाजिक सचेतना फैलाउन काठमाडौं महानगरपालिका सरोकारवाला निकायसँग सहकार्य गर्न तयार रहेको बताइन्। उनले कुष्ठरोगप्रति डर फैलाउनुभन्दा यसको उपचार, समयमै पहिचान र प्रभावित व्यक्तिको अधिकारका विषयमा सचेतना बढाउनुपर्ने आवश्यकता औँल्याइन्।
कुष्ठरोग लागेको व्यक्ति देख्नेबित्तिकै उसलाई रोगीका रूपमा हेर्ने मानसिकता परिवर्तन गर्नुपर्ने बताउँदै उनले कानुनमा रहेका विभेदकारी प्रावधान पहिचान गरी आवश्यक संशोधनका लागि सुझाव दिन पनि आग्रह गरिन्।