जेठ ३०, काठमाण्डौ । नेपालमा २४ घण्टाको अवधिमा हालसम्मकै सर्वाधिक कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४४८ कोरोना संक्रमित थपिएका हुन् । योसहित देशमा कोरोना संक्रमितको कुल संख्या ५ हजार ६२ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लोपटक थपिएका ४४८ मध्ये ४२४ पुरुष छन् भने २४ जना महिला छन् ।
विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा मोरंगका २ जना, झापाका ९ जना, शिक्षण अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा महोत्तरीका १० जना, भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ८ जना, पाटन अस्पतालको प्रयोगशालामा धादिङका एकजना, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा सप्तरीका १७, उदयपुरका ३ र सिरहाका ११ गरी कुल ३१ जना कोरोना संक्रमित फेला परेका छन् ।
यसैगरी, कोशी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा इलामका १, झापाका ६, सुनसरीका १० गरी कुल १७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा पर्वतका १३, स्याङ्जाका २२, नवलपरासीपूर्वका १, तनहुँका १ गरी जम्मा ३७ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, भेरी अञ्चल अस्पतालको प्रयोगशालामा बर्दियाका १५ र बाँकेका १ गरी १६ जना, शुक्रराज ट्रपिकल केन्द्रमा नवलपरासीपूर्वका ४, मोरङका एक, नवलपरासी पूर्वका ४, धादिङका २७ जना गरी कुल ३२ जना, प्रादेशिक प्रयोगशाला जनकपुरमा धुनषाका १४, महोत्तरी ६, सर्लाहीका ३ गरी जम्मा २३ जना, धुलिखेल अस्पतालको प्रयोगशालामा कपिलवस्तुका ४ जना, सर्लाहीका ४ गरी कुल ८ जना संक्रमितको पहिचान भएको छ ।
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा ८ जना, प्रादेशिक असपताल सुर्खेतमा दैलेखका ३८ जना, सुर्खेतका ४५ जना गरी कुल ८३ जना, प्रादेशिक जनस्वास्थय रुपन्देहीमा अर्घाखाँचीका २, गुल्मीका १, पाल्पाका १, प्यूठानका २, रुपन्देहीका १५, नवलपरासी पश्चिमका २ जना गरी २४ जना संक्रमित भेटिएका छन् ।
काठमाण्डौस्थित केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बाराका १, धादिङका १, धनुषाका १, नुवाकोटका १, रौतहटका ८६, काठमाण्डौकी एक महिला, सर्लाहीका ५० गरी कुल १४१ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रबाट १६ संक्रमित डिस्चार्ज भएका छन् । योसँगै कोरोनामाथि जित हासिल गरी घर फर्किनेहरुको संख्या ८७७ पुगेको छ ।