चैत २८, काठमाण्डौ । सरकारले अर्को साता बढीमा २ दिन लकडाउन केही खुकुलो पारेरै भए पनि काठमाण्डौमा अड्किएकाहरुलाई घर जान दिने व्यवस्था मिलाउने भएको छ ।
बिहीबार यो विषयमा निर्णय भए पनि त्यसको डेढ घण्टामा पूर्व निर्णय रद्ध गरिएको थियो । तर, यही विषय कार्यान्वयनका लागि सरकारले तयारी थालेको एक मन्त्रीले जानकारी दिएका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले अर्को साता उपत्यका छाड्न चाहनेलाई, देशका अन्य शहरी क्षेत्रमा अड्किएकाहरुलाई सहज ढंगले घर जान दिने र त्यसको व्यवस्थापन सरकारले नै मिलाउने विषयमा तयारी भइरहेका खुलासा गरेका हुन् ।
नेपाली रेडियो नेटवर्कको बहस कार्यक्रममा कुरा गर्दै त्रिपाठीले अर्को साताको कुनै २ दिन शहरी क्षेत्रमा अलपत्र परेकाहरुलाई घर जान दिने गरी लकडाउन खुकुलो पार्न लागिएको दाबी गरेका हुन् ।
विशेष गरी उपत्यकामा अलपत्र परेकाहरुलाई गाउँ फर्कन दिने तयारीमा सरकारले काम गरिरहेको छ । उनले भनेका छन्(एक दुई दिन गृहकार्यमै समय लाग्ला । त्यसपछि यो निर्णयको रुपमा बाहिर आउनेछ ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार नै मन्त्रीहरुबीच २ दिन गाउँ जान दिने व्यवस्था गर्न लागिएको दाबी समेत गरेका छन् ।
अहिले दैनिक १५ हजार मानिसहरु काठमाण्डौबाट हिँडेरै गाउँ फर्किरहेका र उनीहरुलाई यो ढंगले पठाउनुहुँदैन भनेरै सरकारले व्यवस्थित ढंगले गाउँ पठाउने विषयमा गृहकार्य गरिरहेको बताए ।
यो विषयमा प्रदेश र स्थानीय तहका सरकार प्रमुखहरुसँग पनि छलफल गर्ने र उनीहरुको सुझावलाई समेत मध्यनजर गरी आगामी साता कुनै २ दिन फसेकलाई गाउँ जान दिने निर्णय हुने उनको भनाई छ ।
बिहीबार उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले शुक्रबार र शनिवार उपत्यकामा अलपत्र परेकालाई गाउँ फर्कन दिने निर्णय गरेको थियो । तर, यो निर्णय हतारोमा भएको भन्दै प्रदेश सरकार र स्थानीय सरकारबाट विरोध भएपछि डेढघण्टाभित्रै फेरि सो निर्णय रद्ध गरिएको थियो ।
मुख्यमन्त्रीहरुबाटै यसको विरोध भएपछि निर्णय रद्ध भएको बताइएको थियो ।
त्यसो त बिहीबार नै प्रदेश ५ का मुख्यमन्त्री तथा प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेता शंकर पोखरेलले बैशाख ३ गतेसम्म धैर्य गरिदिन र त्यसपछि ठाउँ हेरेर आउँजाउँ गर्न सकिने भनेका छन् । यसले बैशाख ३ पछि एकदुई दिन अलपत्र परेकाहरुलाई घर जान दिने व्यवस्था हुनसक्ने संकेत गरेको देखिन्छ ।
सरकारकै अर्का एक मन्त्रीका अनुसार बैशाख ३ गतेसम्म जारी लकडाउन फेरि पनि लम्बिने निश्चित छ । तर, लकडाउन लम्ब्याउनुअघि अलपत्र परेकाहरुलाई गाउँसम्म जान दिने व्यवस्था सरकारले मिलाइसक्नेछ ।
त्यसका लागि यातायात व्यवसायी, सुरक्षा निकाय र प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधिहरुसँग पनि कुराकानी भइरहेको छ । ती मन्त्रीले भने ः अलपत्र परेकाहरुलाई सुरक्षाका साथ निश्चित दूरीसम्म सरकारले नै पुर्याइदिनेछ ।
संघीय सरकारले निश्चित स्थानसम्म अलपत्र परेका नागरिकलाई पुर्याउने र त्यसपछि ती नागरिकहरुको जिम्मा स्थानीय र प्रदेश सरकारले लिएर सिधैं घर पठाउने हो या क्वारेन्टाइनमा पठाउने हो भन्ने कुराको निक्र्यौल गर्नुपर्ने गरी तयारी भइरहेको बताइएको छ ।
कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी(सीसीएमसी)को बैठकमा सुरक्षा निकायका प्रतिनिधिले काठमाण्डौ उपत्यकामा अलपत्र परेकाहरुलाई गाउँ फर्कने वातावरण बनाउनुपर्ने सुझाव दिइरहेका छन् । उनीहरुले अलपत्रहरुको व्यवस्था गर्न सकिएन भने काठमाण्डौमा लुटपाट र चोरीका घटना बढ्नसक्ने खतरा समेत औंल्याएका स्रोत बताउँछ ।
यस्तै, लकडाउन लामो समयसम्म हुँदा काठमाण्डौमा न्यून आय भएकाहरुको बिजोग हुने भोकमरीसम्म लाग्नसक्ने भन्दै त्यस्ता व्यक्तिले चाहेको खण्डमा आफ्नो गाउँ जान दिने वातावरण बनाइनुपर्नेमा सीसीएमसीका अधिकांश सदस्यको सहमति छ ।