web image
भदौ २३, काठमाडौं । अमेरिकी अभिनेत्री तथा मोडल पामेला एन्डरसनले आफूले जीवनमा भोगेका कठिन अनुभवलाई कमजोरीका रूपमा नभई शक्तिका रूपमा लिएको बताएकी छन्। भेनिसमा आयोजित एम्फार गालामा ‘अवार्ड अफ करेज’ ग्रहण गर्दै उनले आफूलाई पीडित नभई विजेताका रूपमा हेर्ने बताएकी हुन्।
कार्यक्रममा एन्डरसनले आफूलाई वर्षौंअघि हेपाटाइटिस सी भएको पत्ता लागेको घटना सम्झिइन्। त्यतिबेला चिकित्सकले आफूलाई करिब १० वर्ष मात्र बाँच्ने सम्भावना रहेको बताएको उनले सुनाइन्। उक्त खबरले आफ्नो जीवन नै उल्ट्याइदिएको र विशेषगरी आफ्ना साना छोराहरूको भविष्यलाई लिएर आफू निकै चिन्तित बनेको उनले बताइन्।
उनले रोगसँगै त्यसबाट उत्पन्न भएको लज्जा र अपराधबोधले आफूलाई लामो समयसम्म प्रभावित गरेको बताइन्। बाल्यकालमा आफूले भोगेको यौन दुर्व्यवहारको अनुभवसँग पनि उनले यसलाई जोडिन्। उनका अनुसार यी घटनाले आफूलाई लामो समयसम्म कमजोर र ‘क्षतिग्रस्त’ भएको महसुस गराएको थियो
तर, हेपाटाइटिस सीको उपचारमा आएको प्रगतिपछि एन्डरसन सन् २०१५ मा रोगमुक्त भएको बताएकी छन्। उपचारका क्रममा आफूले ठूलो आर्थिक मूल्य चुकाउनुपरेको पनि उनले उल्लेख गरिन्। हेपाटाइटिस सीको उपचारका लागि नयाँ प्रभावकारी औषधि सन् २०११ मा उपलब्ध भएको थियो।
एन्डरसनले आफ्ना कठिन अनुभवलाई कलामार्फत व्यक्त गर्न सकेको बताइन्। अभिनय र सिर्जनात्मक कामले आफूलाई विगतका पीडाबाट अघि बढ्न सहयोग गरेको उनको भनाइ छ।
हालैका वर्षमा उनको अभिनय करिअरले पुनः चर्चा पाएको छ। ‘द लास्ट शो गर्ल’ लगायतका चलचित्रमा उनको कामले प्रशंसा पाएको छ भने उनको नयाँ चलचित्र ‘प्लेस टु बी’ भेनिस फिल्म फेस्टिभलमा प्रदर्शन हुँदैछ।
एम्फारले एन्डरसनलाई उनको साहस र व्यक्तिगत संघर्षका लागि ‘अवार्ड अफ करेज’ प्रदान गरेको हो। पुरस्कार ग्रहण गर्दै उनले आफू अहिले विगतको तुलनामा अझ बलियो र सक्षम भएको बताइन्।
Share this with your friends: