भदौ २१, काठमाडौं । भारतीय लोकप्रिय रियालिटी शो ‘बिग बोस’को २०औँ संस्करण आजदेखि सुरु हुँदैछ। सलमान खान लगातार यसपटक पनि कार्यक्रमको होस्टका रूपमा फर्किएका छन्। नयाँ सिजनमा विभिन्न क्षेत्रका १८ सेलिब्रिटी सहभागी हुने चर्चा छ, जसमा चर्चित भारतीय बक्सर मेरी कोमको नामले विशेष ध्यान खिचेको छ।
मेरी कोम ओलम्पिक पदक विजेता तथा भारतीय महिला बक्सिङकी चर्चित खेलाडी हुन्। उनलाई ‘बिग बोस २०’मा सम्भावित प्रतियोगीका रूपमा समावेश गरिएको खबरले खेलकुदसँगै मनोरञ्जन क्षेत्रमा पनि चासो बढाएको छ। अन्य सहभागीको तुलनामा मेरी कोमको फरक पृष्ठभूमिका कारण उनको सहभागिता यस सिजनको प्रमुख आकर्षण बन्न सक्ने अनुमान गरिएको छ।
रिपोर्टअनुसार नयाँ सिजनमा टेलिभिजन, भोजपुरी चलचित्र, सामाजिक सञ्जाल तथा खेलकुद क्षेत्रका विभिन्न व्यक्तित्व सहभागी हुने चर्चा छ। मेरी कोमसँगै कनिका मान, अम्रपाली दुबे, अरिश्फा खान, माही विजलगायतका नाम सार्वजनिक भएका छन्। यद्यपि ग्रान्ड प्रिमियरमा औपचारिक रूपमा परिचय गराएपछि मात्र सहभागीहरूको अन्तिम पुष्टि हुने जनाइएको छ।
‘बिग बोस २०’ को ग्रान्ड प्रिमियर ६ सेप्टेम्बरमा हुँदैछ। कार्यक्रम जियोहटस्टारमा राति ९ बजे र कलर्स टेलिभिजनमा राति १०ः३० बजे प्रसारण हुने रिपोर्टमा उल्लेख छ।
यसपटकको संस्करणमा नयाँ ढाँचा र विभिन्न ट्विस्ट समावेश गरिने बताइएको छ। मेरी कोमजस्तो अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएकी महिला खेलाडीको सम्भावित सहभागिताले ‘बिग बोस २०’प्रतिको दर्शक उत्सुकता थप बढाएको छ।