web image
भदौ १९ , काठमाडौं । त्रिशूली पुरानो बजारकी ७३ वर्षीया चरी नेपालीले विनाशकारी बाढीका बीच बिरामी श्रीमान् भक्तबहादुर नेपालीलाई घिसार्दै सुरक्षित स्थानमा पुर्याएर ज्यान बचाएकी छन्। बाढीबाट आफू, श्रीमान् र छिमेकीका दुई बालबालिकालाई जोगाउन उनले देखाएको साहस अहिले प्रेरणाको विषय बनेको छ।
भक्तबहादुर सुगर, उच्च रक्तचाप र मिर्गौलासम्बन्धी समस्याबाट पहिल्यै कमजोर थिए। बाढीको भेलबाट भाग्ने क्रममा उनको शरीरमा गम्भीर चोट लाग्यो र बायाँ हातसमेत चल्न छाड्यो। चरीले आफ्नो ज्यानको समेत परवाह नगरी श्रीमान्को हात समातेर उकालोतर्फ तानेर सुरक्षित स्थानमा पुर्याएकी थिइन्।
बाढीबाट जोगिएपछि भक्तबहादुरलाई सुरुमा बाघटारको अस्पतालमा उपचार गराइएको थियो। अवस्था सुधार नभएपछि उद्धारको व्यवस्था गरी चरी उनलाई लिएर हेलिकप्टरमार्फत काठमाडौं आइपुगिन्। अहिले भक्तबहादुरको वीर अस्पतालमा उपचार भइरहेको छ।
तर चरीका लागि विपत्ति त्यत्तिमै रोकिएको छैन। बाढीले उनीहरूको घर, सिलाइ पसल, बचत रकम, गहना र घडेरीसमेत बगाएको छ। वर्षौंको मेहनतबाट बनाएको घर र जीविकोपार्जनको आधार गुमेपछि उनी अहिले बुढेसकालमा बस्ने ठाउँ र जीवन धान्ने आधारको खोजीमा छिन्।
‘भगवानले बचाउनुभयो, अब बस्ने र बाँच्ने आधार दिनुस्’ भन्दै चरीले सरकारसँग सहयोगको माग गरेकी छन्। उनको परिवारमा छोराको आम्दानीबाट बालबालिकाको पालनपोषणसमेत गर्न कठिन भइरहेको छ।
Share this with your friends: