साउन १९ , काठमाडौं । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले अस्पताल तथा स्वास्थ्य सेवामा अवरोध नगर्न सबै पक्षसँग आग्रह गरेको छ। अत्यावश्यक सेवा भएकाले स्वास्थ्य संस्थाहरू २४ घण्टा सञ्चालन हुनुपर्ने भन्दै मन्त्रालयले कुनै पनि आन्दोलन वा विवादका क्रममा सेवा प्रभावित नपार्न अनुरोध गरेको हो।
मन्त्रालयका अनुसार स्वास्थ्य सेवा निरन्तर र अविरल रूपमा सञ्चालन हुनुपर्ने भएकाले बिरामीको उपचारमा बाधा पुर्याउने गतिविधि गम्भीर विषय हो। अस्पताल, एम्बुलेन्स तथा स्वास्थ्यकर्मीको काममा अवरोध हुँदा बिरामीको ज्यान जोखिममा पर्न सक्ने भएकाले यस्तो कार्य नगर्न आग्रह गरिएको छ।
पछिल्लो समय विभिन्न स्थानमा आन्दोलन तथा तनावका कारण स्वास्थ्य सेवा प्रभावित हुने घटनाप्रति मन्त्रालयले चिन्ता व्यक्त गरेको छ। यसले विशेषगरी आकस्मिक उपचार, सुत्केरी सेवा तथा गम्भीर बिरामीको उपचारमा समस्या निम्त्याउने खतरा रहेको जनाइएको छ।
मन्त्रालयले स्वास्थ्य सेवा सबै नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै यसलाई निर्बाध रूपमा सञ्चालन गर्न सहयोग गर्न सबै सरोकारवालालाई अपिल गरेको छ।