भदौ २२, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण तत्काल रोक्न उद्योगीहरूलाई एक साताको समयसीमा दिएकी छन्।
सोमबार मन्त्रालयमा उद्योगीहरूसँग भएको छलफलमा मन्त्री कुमारीले वातावरण संरक्षणसम्बन्धी कानुनी मापदण्ड उल्लंघन गर्ने उद्योगमाथि नियमअनुसार कारबाही गरिने चेतावनी दिइन्।
सिमरा र वीरगञ्ज क्षेत्रका विभिन्न उद्योगले प्रशोधन नगरी ढल तथा औद्योगिक फोहोर सिधै सिर्सिया खोलामा मिसाउँदा खोला लामो समयदेखि प्रदूषित बन्दै आएको छ। यसको प्रत्यक्ष असर बारा र पर्साका विभिन्न गाउँका बासिन्दा, किसान तथा पशुपालकमा परेको बताइएको छ।
मन्त्री कुमारीले उद्योगहरूले वातावरण संरक्षण ऐनको मापदण्ड उल्लंघन गर्दै रसायनयुक्त तथा दूषित पानी खोलामा पठाउँदा स्थानीय जनजीवन, पशुपालन र मानव स्वास्थ्यमा गम्भीर असर परेको बताइन्।
उनले उद्योगीहरूलाई बैठकलाई औपचारिकतामा सीमित नराखी तत्काल सुधारका काम सुरु गर्न निर्देशन दिइन्।
‘राज्यका सम्बन्धित निकायहरूले पटक–पटक सजग गराउँदा पनि हालसम्म सुधार देखिएको छैन। जनताको निरन्तर गुनासो आएकाले मन्त्रालय यस विषयमा गम्भीर छ,’ मन्त्री कुमारीले भनिन्।
उनका अनुसार आगामी एक साताभित्र उद्योगहरूले आवश्यक सुधार गर्नुपर्नेछ। त्यसपछि मन्त्रालयको विशेष टोलीले स्थलगत निरीक्षण गर्ने र मापदण्ड उल्लंघन भएको पाइएमा कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ।
सिर्सिया खोलाको प्रदूषण नियन्त्रण तथा पुनर्जीवनको माग गर्दै स्थानीय किसान र बासिन्दाले लामो समयदेखि आवाज उठाउँदै आएका छन्। उद्योगबाट निस्कने रसायनयुक्त पानी र औद्योगिक फोहोरको उचित व्यवस्थापन नहुँदा क्षेत्रकै ‘लाइफलाइन’ मानिने सिर्सिया खोला अस्तित्व संकटमा परेको स्थानीयको गुनासो छ।
मन्त्रीको पछिल्लो निर्देशनपछि स्थानीय बासिन्दाले अब प्रदूषण नियन्त्रणका लागि प्रभावकारी कदम चालिने अपेक्षा गरेका छन्।