नेपालमा साइबर अपराधका घटना बढ्दै जाँदा त्यसको गम्भीर असर महिला तथा बालबालिकाको सुरक्षा, गोपनीयता र मर्यादामा परेको सरोकारवालाले बताएका छन्।
सोमबार बसेको महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षासम्बन्धी विषयमा छलफल गर्दै महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले पछिल्लो समय डीपफेक, ब्ल्याकमेल, साइबर स्क्याम, यौन दुर्व्यवहार तथा डिजिटल वित्तीय ठगीका घटना बढिरहेको बताइन्।
मन्त्री वादीले यस्ता अपराधले विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा लैंगिक र यौनिक अल्पसंख्यकको सुरक्षा, गोपनीयता र आत्मसम्मानमा गम्भीर असर पारिरहेको बताइन्। उनका अनुसार साइबर सुरक्षा केवल सूचना प्रविधिसँग सम्बन्धित विषय नभई नागरिकको गोपनीयता, मानवअधिकार, महिला तथा बालअधिकार र सामाजिक न्यायसँग प्रत्यक्ष जोडिएको विषय हो।
नेपालको संविधानले नागरिकको गोपनीयताको हक तथा महिलालाई सबै प्रकारका हिंसाबाट संरक्षण पाउने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उनले साइबर सुरक्षालाई प्राविधिक वा कानुनी विषयमा मात्र सीमित नगरी सामाजिक जिम्मेवारी, सुशासन र मानवअधिकारसँग जोडेर हेर्नुपर्ने बताइन्।
बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या १०० प्रतिशतभन्दा बढी पुगेको उल्लेख गर्दै डिजिटल माध्यमको गैरजिम्मेवार प्रयोग अपराधको माध्यम बन्न सक्ने बताए। उनले साइबर अपराध नियन्त्रणका लागि विद्युतीय कारोबार ऐन–२०६३, बालबालिका ऐन–२०७५ तथा मुलुकी देवानी संहितालगायतका कानुनी व्यवस्था कार्यान्वयनमा रहे पनि साइबर अपराधसम्बन्धी केही कानुनी रिक्तता अझै रहेको बताए।
कार्कीले कम्प्युटर तथा अन्य डिजिटल उपकरणको दुरुपयोगबाट हुने साइबर अपराध र साइबर ठगीका घटना बढिरहेको भन्दै अपराध नियन्त्रणका लागि कानुनी तथा प्राविधिक क्षमता थप सुदृढ गर्नुपर्नेमा जोड दिए।