साउन ११, काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकार सुशासनका पक्षमा दृढताका साथ अगाडि बढिरहेको जानकारी दिएकी छन् । सफ्टेरिका कलेजले यहाँ आज आयोजना गरेको ‘टेक(एक्स) २०२३’ उद्घाटन गर्दै सरकारका प्रवक्ता समेत रहेकी मन्त्री शर्माले भ्रष्टाचारविरुद्ध सरकारले अभियान नै सञ्चालन गरेको स्पष्ट पारिन् ।
उनले भनिन्, “संसार सूचना तथा प्रविधिको विकासमा अगाडि बढिसकेको छ, पछिल्लो समयमा गुणात्मक प्रगति भएको क्षेत्र यो मात्रै हो ।” । उनले मानवीय जीवनको बहुआयामिक पक्षमा सूचना प्रविधिले महत्वपूर्ण प्रभाव पारेको जानकारी दिइनू।
सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा गइसकेको बताउँदै उनले कुल पुँजीगत खर्चको एक प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्ने बताइन् । विसं २०७६ देखि अगाडि बढाइएको डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रममार्फत कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र पूर्वाधारलगायतका क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढाइएको उनको भनाइ छ ।
मन्त्री शर्माले सरकारी सेवामा सूचना प्रविधिसम्बन्धी दक्ष जनशक्तिलाई आकर्षण गर्ने गरी सरकारले योजना बनाएको बताइन् । साथै सङ्घीय निजामती ऐनमा आइटी समूहलाई अलग बनाउने तयारी भइरहेको भन्दै उनले युवालाई सरकारी सेवामा प्रवेश गराएर देशप्रति प्रतिबद्ध बनाउने र स्वदेशैमै रोजगारीको सिर्जना गर्ने सरकारको लक्ष्य रहेको स्पष्ट पारिन् ।