भदौ १७ , काठमाडौं । भारतीय वायुसेनाकी एयर भाइस मार्शल शक्ति शर्मा गैर–मेडिकल शाखाबाट एयर भाइस मार्शल पदमा पुग्ने पहिलो महिला अधिकारी बनेकी छन्। यो उपलब्धिसँगै उनले भारतीय रक्षा क्षेत्रमा महिला नेतृत्वको नयाँ इतिहास कायम गरेकी छन्।
शर्माले मंगलबार भारतीय वायुसेना मुख्यालयमा ‘असिस्टेन्ट चिफ अफ द एयर स्टाफ (एजुकेसन)’ को जिम्मेवारी सम्हालेकी हुन्। तीन दशकभन्दा लामो सैन्य सेवामा रहेकी उनले यसअघि सैनिक स्कुल, कपूरथलाको प्रधानाचार्यका रूपमा समेत जिम्मेवारी निर्वाह गरेकी थिइन्। उनी भारतीय तीनवटै सेनामध्ये सैनिक स्कुलको कमान्ड सम्हाल्ने पहिलो महिला अधिकारीसमेत बनेकी थिइन्।
यसअघि मेडिकल शाखाबाट एयर मार्शल पदमा पुग्ने पहिलो भारतीय महिला पद्मा बन्दोपाध्याय थिइन्। शक्ति शर्माको पछिल्लो पदोन्नतिलाई भने गैर–मेडिकल शाखामा महिलाको उच्च तहको नेतृत्वका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।