असार २२, काठमाडौं ।शंकास्पद कागजात’ भएको भन्दै दिल्ली ट्रान्जिटबाटै फर्काइएकी चिकित्सा मनोविद् जुगमाया चौधरीको उडान अवधिभर खर्च भएको रकम एयर इन्डियाले फिर्ता गर्ने भएको छ ।
एयर इन्डियाको काठमाडौं-दिल्ली-लन्डन उडानमा यात्रुको ‘शंकास्पद कागजात’ भन्दै दिल्ली ट्रान्जिटबाटै घर फिर्ता गराएको विषयमा यात्रु चौधरीले सरोकार सम्बद्ध निकायबाट जवाफ माग गरेकी थिइन् ।
आफ्नो अनुसन्धानमा भारतीय विमानस्थलमा रहेका बेलायतका एयरलाइन लियाजन अफिसर (एएलओ) को निर्देशनमा यात्रुलाई उक्त विमानमा उडान भर्न नदिइएको देखिएको एयर इन्डियाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
यात्रुमाथि भएको असहज परिस्थितिप्रति दुःख व्यक्त गर्दै एयर इन्डियाले उनको यात्रा अवधिभर लागेको सम्पूर्ण रकम फिर्ता गर्ने र पुनः अर्को उपलब्ध उडानमार्फत अतिरिक्त खर्चबिनै टिकट काटिदिने आश्वासन दिएको छ ।
चौधरीले आफू चिकित्सा मनोविद् (क्लिनिकल साइकोलोजिस्ट) का रुपमा कार्यरत रहेको सबै प्रमाण तथा दिल्लीस्थित नेपाली दूतावासको नो–अब्जेक्सन लेटर बुझाएर पनि एयर इन्डियाले उडान भर्न नदिएको भन्दै काठमाडौंस्थित भारतीय दूतावास, बेलायती दूतावास, एयर इन्डिया कार्यालय, भीएसफ ग्लोबलसहितमा उजुरी गरेकी थिइन् ।
मेरो मेडिकल फिल्डकै साथीको कन्भोकेसन समारोहमा सहभागी हुन लन्डन जाने टुंगो भएपछि एयर इन्डियाको काठमाडौं–दिल्ली–लन्डन उडानको टिकट गरेकी थिएँ, तर दिल्लीबाट विमान चढ्न लागेपछि मलाई काउन्टरबाटै रोक्ने काम गरियो, ट्रान्जिटमै रातभर र भोलिपल्ट पनि कुराउन लगाएर ५५ हजार भारु रकम थप गर्ने भए उडान भर्न दिइने भनियो । तर, ‘शंकास्पद कागजात’ को कुनै प्रमाण नखुलाइकन दिल्लीबाट काठमाडौं डिपोर्ट गराइएको‚’ गत मार्च २१–२२ मा आफूले बेहोरेको समस्या सुनाउन परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा आएकी चौधरीले भनेकी थिइन् ।
यो कठिनाइ बेहोर्नुपरेपछि दिल्लीस्थित नेपाली दूतावासले तत्कालै ‘नो अब्जेक्सन लेटर’ पठाए पनि अर्को उडानमा पनि लन्डन जान नदिइएको र यसरी यात्रुलाई उडान रोक्नमा ‘एएलओ’(एयरक्राफ्ट लियाजन अफिसर) को अधिकार हुने भन्दै यात्रुलाई जबरजस्ती घरफिर्ता गरिएकोमा चौधरीले विभिन्न सम्बन्धित निकायमा उजुरी गरेकी थिइन् ।
कान्तिपुर