जेठ २५, चिप्लेढुङ्गा । नेपाल युके फाउण्डेशनको सहयोगमा पोखरा महानगरपालिका–१६ का विभिन्न टोलमा राहत वितरण गरिएको छ । बन्दाबन्दीका कारण दैनिक ज्याला मजदूरी गर्ने विपन्न परिवारलाई गायक भाइ गुरुङको संयोजनमा राहत बाँडिएको हो ।
दीप क्षेत्रका ३३ परिवारका लागि राहत वितरण गरिएको संयोजक गायक गुरुङले जानकारी दिनुभयो । “हामीले अतिविपन्न, अपाङ्गता भएका, सुत्केरी, गर्भवती, एकल र वृद्धा महिलाको पहिचान गरी राहत वितरण गरेका हौँ”, उहाँले भन्नुभयो । पोखरा –१६ का सदस्य राजेश गुरुङले अप्ठ्यारो परिस्थितिमा सहयोग गर्नु नै मानवीय धर्म भएको बताउनुभयो ।
फाउण्डेशनले यसअघि पोखरा साङ्गीतिक कलाकार सङ्घ र जक्सन डटकममार्फत पोखराका विभिन्न बस्तीका विपन्न परिवारका लागि राहत वितरण गरिसकेको छ ।
रासस
Share this with your friends: